‘तान्जानिया काण्ड’का उपसचिव तामेलीमा परेपनि शाखा अधिकृतलाई अकुतमा मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत (हाल अवकास प्राप्त) उद्वब प्रसाद थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

‘तान्जानिया काण्ड’मा मुछिएका अर्थ मन्त्रालयका उपसचिव खिमबहादुर कुँवरको अकुत सम्पत्ति आर्जन गरेको फाइल तामेलीमा राखेको अख्तियारले शाखा अधिकृत थपलियालाई भने अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनलाई १,६४,८९,७०० रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा हालेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

अर्थ मन्त्रालयमा कार्यरत अधिकांश कर्मचारीमाथि अकुत सम्पत्तिमा अनुसन्धान भइरहेको अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । तामेलीमा राखिएको कुँवरलगायतको फाइलमा पनि उल्टाउन सक्ने अख्तियार उच्च स्रोतको संकेत छ ।

 

अख्तियारको प्रेस विज्ञप्ति

अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत (हाल अवकास प्राप्त) उद्वब प्रसाद थपलियाले आफू बिभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अर्थ मन्त्रालय अन्तर्गतका बिभिन्न कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धब प्रसाद थपलिया सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४०।११।०६ देखि अवकाश भएको मिति २०७५।१२।३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कुल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण Cash Flow Chart अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको निजको वैध आय रू. १,०२,८२,२५८।२४ को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरु रू. २,६७,७१,९५८।४९ खर्च तथा लगानी गरेको देखिँदा आयभन्दा बढी देखिएको रु. १,६४,८९,७००।२५ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले सार्वजजिक पद धारण गरेका उद्धब प्रसाद थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले निज उद्धब प्रसाद थपलियालाई विगो रू. १,६४,८९,७००।२५ (एक करोड चौसठ्ठी लाख उनानब्बे हजार सात सय रूपैयाँ पच्चीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम असुल उपर/जफत गरी पाउन मागदावी लिइएको छ ।

यसैगरी निज उद्धब प्रसाद थपलियाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरुमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज उद्धब प्रसाद थपलियाको श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com