स्वास्थ्य लाइभ प्रभाव

१५ दिनभित्र एचआईभी बोर्डको सबै विवरण उपलब्ध गराउन निर्देशन


काठमाडौं ।  १४ वर्ष अगाडि स्थापना भएको एचआईभी बोर्ड बेवारिसे हुँदा समेत मौन बसेका स्वास्थ्य सेवा विभाग र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलाई स्वास्थ्य मन्त्रालयले १५ दिनभित्र बोर्डको सम्पूर्ण विवरण उपलब्ध गराउने निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभाग  स्वास्थ्य, शिक्षा, सूचना तथा संचार केन्द्रको एक कोठामा वर्षौंदेखि चाबी लगाएर बहुमूल्य सामग्री त्यसै फालिएको छ । बोर्डमा आवद्ध भएका त्यस बेलाका कर्मचारी सम्पर्कमा छैनन् । करोडौंका उपकरणहरु बन्द कोठाभित्र लुकाएर राखिएको छ । बोर्डसँग रहेको गाडी, मोटरसाइकलदेखि ल्यापटपसम्म चोरी भएको छ । सरकारी कर्मचारी र एनजिओ, आइएनजिओकर्मीहरुको मिलेमतोमा ती सामान गायब बनाइएको आरोप लाग्दै आएको छ ।

स्वास्थ्य लाइभले ‘करोडौंका सामान लुकाउँदा समेत किन बोल्दैन सरकार’ शीर्षकमा समाचार प्रकाशित गरेसँगै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई जवाफ माग गरेको हो । स्वास्थ्य मन्त्रालयका सह-सचिव इन्द्रमणी पोखरेलले स्वास्थ्य सेवा विभाग र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलाई बोर्ड र त्यहाँ भएका र उपकरण र यातायातको विषयमा बुँदागत रुपमा विवरण उपलब्ध गराउन पत्र काटेको बताए ।

एचआईभी एड्स तथा यौनरोग नियन्त्रण विकास समिति (गठन) आदेश, २०६४ बमोजिम स्थापना भएको उक्त बोर्ड सन् २०१३ सालबाट बन्द भएको थियो । बोर्ड बन्द भएपछि त्यहाँ खरिद गरेका दर्जनौं ल्यापटप, डेक्सटप, रंगिन फोटोकपी मेसिन, लाखौं रुपैयाँका सोफा, दराज, कुर्सीलगायत कयौं सामानहरु लुकाइएको छ । अहिलेसम्म कसैले पनि उक्त कोठा खोल्ने हिम्मत गरेका छैनन् । यसको मुख्य कारण सरकारी अधिकारीहरुले ल्यापटपलगायत थुप्रै सामान चोरेर लग्नु हो ।

सरकारी अधिकारीहरुको स्वार्थ पूर्ति नहुँदा एचआईभी बोर्ड बन्द भएको स्वास्थ्य लाइभको खोजीमा खुल्न आएको छ ।एचआईभी एड्स तथा यौनरोग नियन्त्रण, रोकथाम, उपचार, सहयोग, पुनर्स्थापना, हेरचाहलागयत क्षेत्रमा काम तथा सहजिकरण गर्ने उद्देश्यले स्थापना भएको एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्ड आठ वर्षदेखि चाबी लगाएर राखिएको छ । यस बोर्डका बिषयमा धेरैलाई जानकारी छैन । जानकारी भएकाहरु पनि जानकारी नभएको जस्तो गरेर बसेका छन् ।

स्वास्थ्य लाइभले एचआईभी बोर्डको अवस्था खोजी गर्दा सम्पर्कमा आएका बोर्डका कान्छा अर्थात् अन्तिम सदस्य बिष्णु फुयाँल शर्माले बोर्डमा बहुमूल्य सामग्रीहरुको खरिद गरिएको तर, ती सामग्रीहरु अहिलेको अवस्थामा जानकारीमा नभएको बताए । उनकाअनुसार सातवटा निकै महँगा ल्यापटप, महँगो मूल्यमा खरिद गरेको केही डेस्कटप कम्प्युटर, कलर प्रिन्टर लगायत नयाँ महँगा सोफाहरु आदी थुप्रै सामानहरु खरिद भएको थियो । त्यस्तै दुईवटा नयाँ मोटरसाइकल, त्यस्तै करोडौं मूल्यको प्राडो गाडी समेत अहिले बेपत्ता बनाइएको छ । मन्त्रालयले उक्त सवारीसाधनको विषयमासमेत जवाफ मागेको छ ।

एचआईभी बोर्ड नै बेपत्ता पारिएको अवस्थामा त्यहाँ रहेको सम्पत्ति बेपत्ता पार्नु कुनै अनौठो कुरा नभएको स्वास्थ्यका अधिकारीहरूको टिप्पणी छ ।

स्वास्थ्य मन्त्रालयले एचआईभी बोर्ड र बोर्डको सम्पत्तिका विषयमा निरन्तर खोजी र प्रश्न उठाएपछि स्वास्थ्य मन्त्रालयले चासो दिएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com