‘एक्सन’मा मन्त्री आले, कोरोना चार्टर उडानमा पनि हात हाले

भट्टराईको बदमासी सच्याउँदैमा पर्यटनमन्त्री आलेलाई ठिक्क !


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कोरोनाकालमा चार्टर उडान गर्दा भएको अनियमिततामा पनि हात हालेका छन् ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले गरेको बदमासीको फोहोर सोर्ने क्रममा मन्त्री आलेले लिएको यो तेस्रो एक्सन हो ।

कोरोनाकालमा विदेशबाट नेपाली ल्याउँदा गरिएको चार्टर उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सलाईभन्दा सेटिङमा मन्त्री भटृराईले यती समूहको लगानी रहेको हिमालय एअरलाइन्सलाई प्राथमिकतामा राखेर घोटाला गरेको आरोप लाग्दै आएको थियो । त्यो विषयमा छानविन गर्न मन्त्री आलेको निर्देशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा छानविन समिति बनाएको हो ।

लकडाउनको समयमा विदेशमा चार्टर फ्लाइट गर्दा नेपाल एअरलाइन्सले ६५ वटा मात्र उडानको अनुमति पाएको थियो भने हिमालय एअरलाइन्सले भने २ सय ३१ वटा उडान गर्ने मौका पाएको थियो । यो अनुमति दिँदा हिमालय एअरलाइन्ससँगको आर्थिक प्रलोभन र साँठगाँठमा राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सलाई डुबाउने काम तत्कालीन पर्यटनमन्त्री भट्टराईले गरेको गम्भीर आरोप लाग्दै आएको छ । निजीलाई काखा र सरकारीलाई पाखा गर्ने यो कदमले त्यो आरोपमा दम देखिन्छ । यो विषयमा यथार्थ पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिन सहसचिव लुइँटेलको संयोजकत्वको समितिलाई मन्त्री आलेले निर्देशन दिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशक प्रेमनाथ ठाकुरलाई सदस्य रहेको उक्त छानविन समितिले भोलिदेखि नै काम थाल्ने मन्त्री आलेेको भनाइ छ ।

चार्टर उडानमा हिमालयसँग सेटिङ गरेर राष्ट्रिय ध्वजावाहकलाई निकम्मा पार्ने तत्कालीन पर्यटनमन्त्री भट्टराईले नियुक्त गरेका  नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेल हटिसकेका छन् । उनको बदमासी मन्त्री आलेले खोज्न थालेपछि राजीनामा दिएर हिँडेका हुन् । पौडेलको समयमा भएको त्यहीँ बदमासी पत्ता लगाउन मन्त्री आलेले थालेका हुन् ।

अहिले विवादमा रहेको बतास समूहको नारायणहिटी काण्डको ठेक्का लगाउने बेला पनि तत्कालीन मन्त्री भट्टराई कै संलग्नता देखिन्छ । त्यो ठेक्का काण्डमा पनि सहसचिव लुईंटेलको संयोजकत्वको छानविन समितिले बदमासी र मिलेमतो रहेको ठहर गरेको थियो । समितिले दोषी ठहर गरेपछि मन्त्री भट्टराईको प्रस्तावमा नियुक्त भएका नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएर हिडिँसकेका छन् ।

तत्कालीन पर्यटनमन्त्री भट्टराई नियुक्त गरेका अर्का पात्र पर्यटन बोर्डको सिईओ धनन्जय रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीमाथि दुर्व्यवहार गरेपछि विवादित बनेका हुन् । विदेशबाट कोटाभन्दा बढी रक्सी बोकेर आएका रेग्मीले मातेको झोंकमा भन्सारका कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । सिईओ रेग्मीलाई मन्त्री आलेले साँढे र जँड्याको संज्ञा दिँदै आएका छन् ।

पर्यटन बोर्डले छानविन समिति गठन गरेलगत्तै निलम्बनमा परेका विवादास्पद सिईओ रेग्मी अदालतबाट स्टे अर्डर लिएर आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि समेत प्रश्न उठाएका रेग्मी विभिन्न काण्डमा मुछिँदै आएका छन् ।

तत्कालीन मन्त्री भट्टराई खराब पात्र पर्यटन बोर्डमा पठाउँदा संस्था नै भद्रगोल बनेको आरोप लाग्दै आएको छ । भट्टराईले गरेको त्यो गल्ती सच्याउने (फोहोर सोर्ने) काममा पनि मन्त्री आले सक्रियतापूर्वक लागेका छन् । तत्कालीन मन्त्री भट्टराईले बदमासी सच्याउँदैमा पर्यटनमन्त्री आलेलाई ठिक्क हुने रहेछ भन्ने कुरा पर्यटन मन्त्रालयमा चर्चा हुन थालेको छ ।

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासन
ट्याग : ##Bheshnarayan Dhahal, ##Dhananjaya Regmi, ##Dim Prakash Poudel, ##Himalaya Airlines, ##Home Prasad Luitel, ##Nepal Airlines, ##Prem Ale, ##Tourism Ministry, ##Yati, ##Yogesh Bhattarai

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com