किर्ते प्राध्यापक उपकुलपति डा. गिरी जोगाउन खोज्दा वीपी प्रतिष्ठानमा भद्रगोल


काठमाडौं । सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई जोगाउन खोज्दा प्रतिष्ठान भद्रगोल अवस्थामा पुगेको छ ।

किर्ते प्रमाणित भइसकेका प्राध्यापक गिरीलाई सिनेट बोलाएर बर्खास्त नगरी प्रतिष्ठानको ऐनले नै नचिनेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवलाई पठाएपछि झन भद्रगोल भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको सेटिङमा पठाइएका यादवले वीपी प्रतिष्ठानमा काम गर्न सक्ने अवस्था छैन । अर्कातिर किर्ते प्राध्यापक उपकुलपति डा. गिरी अदालतबाट फर्किन सक्ने गरी काम गरिएको छ । सरकारले मिलेमतोमा दोहोर भूमिका खेल्दा वीपी प्रतिष्ठानको दैनिक प्रशासनिक तथा आर्थिक काममा समेत अबरोध खडा भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा नेतृत्वको समितिले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल, राजीनामा दिइसकेका रजिष्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर शाहलाई कारबाही गर्न सिफारिस गरेको थियो । उपकुलपति गिरीले मदिरा सेवन गरेको र प्राध्यापकको उपाधि किर्ते भएकोलगायतका प्रमाणित हुने खालका बदमासी देखाएर बर्खास्त गर्ने आधार तयार गरेको थियो । तर सरकारले छानबिन समितिको सिफारिसविपरीत कदम चाल्दा वीपी प्रतिष्ठानमा भद्रगोल देखिएको छ ।

एकातिर कामकाज रोकिएका पदाधिकारी रिट लिएर सर्वोच्च अदालत गएका छन् भने अर्कातिर कामकाज गर्न गएका मन्त्रालयका प्रमुख विशेषज्ञ डा. यादव हात उठाएर हिँडेका छन् । यसले वीपी प्रतिष्ठानको शाख मात्र गिरेको छैन । पूर्वमा स्वास्थ्य सेवाको आशा र भरोसाको केन्द्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नै ध्वस्त हुने अवस्थामा पुगेको छ । कर्मचारीलाई तलब भत्ता दिने त परको कुरा हो स्वास्थ्य उपचारको उचित व्यवस्थापन गर्न समेत प्रतिष्ठानमा समस्या पैदा हुने अवस्था आएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भद्रगोल बनाउने मुख्य दोषी प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवा र सहकुलपति एवं स्वास्थ्यमन्त्री विरोध खतिवडा हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## उपकुलपति ज्ञानेन्द्र गिरी, ## किर्ते प्राध्यापक, ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ## स्वास्थ्यमन्त्री विरोध खतिवडा, #कुलपति शेरबहादुर देउवा, #वीपी प्रतिष्ठानमा भद्रगोल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com