‘निर्वाचन आयोगमा ओमिक्रोनभन्दा शक्तिशाली भाईरसको रगजग’


समाचार टिप्पणी

काठमाडौं । कोरोना महामारीको समय पारेर स्वास्थ्य सामग्री खरिदमा अनियमित तरिकाले ओम्नी ग्रुपका संरक्षण इश्वरीप्रसाद पौडेलको निर्वाचन आयोगमा रजगज रहेको पाइएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को ओमिक्रोन भेरिएन्टभन्दा शक्तिशाली भाईरसका रुपमा निर्वाचन आयोगमा उनको चर्चा हुन थालेको हो ।

निर्वाचन आयोग स्वतन्त्र संवैधानिक निकाय,लोकतन्त्रको प्राण वायुका रुपमा रहेको आवधिक निर्वाचन गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय हो । नेपालका राजनीतिक दलहरुको आस्थाको मन्दिर तथा वित्तीय रुपमा पारदर्शी सरकारी संस्था  केही वर्ष अगाडिसम्म यस्तै-यस्तै सुविशेषणहरुबाट सुसज्ति थियो निर्वाचन आयोग । तर, विगत पाँच वर्षदेखिको निर्वाचन आयोगको ‘ट्रयाक रेकर्ड’ हेर्ने हो भने आर्थिक मामिलामा सबैभन्दा धेरै चलखेल हुने बदनाम भ्रष्ट निकायको उपमा निर्वाचन आयोगले पाएको छ । निर्वाचन आयोगले जरुरी महत्त्वको सानो भन्दा सानो बजेट अर्थ मन्त्रालयमा माग गर्‍यो भनेपनि अर्थका अधिकारीहरुले शंकाको नजरले हेर्ने गरेका छन् । निर्वाचन आयोगले विगतमा गरेको आर्थिक बदमासी कै कारण अन्य संवैधानिक निकायहरुको खर्च गर्ने अधिकार समेत सरकार एवं संसदले कानूनत: खोसिदिएको छ ।

निर्वाचन आयोगको विषयमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन हेर्दापनि यो कुरा स्पष्ट हुन्छ । अर्थ मन्त्रालयले समेत निर्वाचन आयोगलाई पत्याउन छोड्नुले आयोगभित्र केही भाईरसको रजगजले आयोग नै बदनाम हुँदै गएको देखिन्छ ।

आखिर कुनै जमानामा सुशासनमा टसमस नभएको निर्वाचन आयोग अहिले आएर अर्थ मन्त्रालयले समेत नपत्याउने अवस्थामा किन पुग्यो त ? स्वास्थ्य लाइभले आयोगका एक उच्च अधिकारीसमक्ष जिज्ञासा राख्दा आयोगको सतिजस्तो छवि धमिल्याउने प्रमुख पात्रका रुपमा विगत पाँच वर्षदेखि निर्वाचन आयोगको अर्थ फाँट हेर्ने विवादित आयुक्त पौडेलको द्रब्य मोहले गर्दा नै निर्वाचन आयोगको छवि यति विघ्न विग्रन गएको टिप्पणी गरे । एक विवादित व्यापारीलाई मोटो रकम चढाएर निजकै सेटिङमा निर्वाचन आयोगको आयुक्तको जागिर पाएका पौडेलले आफू काङ्ग्रेसको कोटामा देउवा दाईले आयुक्त बनाइदिएको भन्दै हिँड्ने गरेकाे आयोगका ती उच्च अधिकारी बताउँछन् ।

वि.सं २०७४ सालको निर्वाचनको समयमा आर्थिक घोटालाको ताण्डव नृत्य मच्चाएका पौडेल आसन्न निर्वाचनमा समेत तरमार्ने ध्याउन्नमा रहेका छन् । “निर्वाचन आयोगका उच्च कर्मचारी एवं महत्त्वपूर्ण कर्मचारी समेत मैले सेटिङमा ल्याएको हुँ, थपलियाको केही चल्नेवाला छैन मेरो अगाडि, थपलियाबाहेक अरु सबै आयुक्त लारे/लुरे हुन्” भन्दै हिँडेन थालेको आयोगभित्र चर्चा छ । उनले आगामी चुनावमा झन् आयोगको छविलाई रसातलमा पुर्‍याउने सम्भावना आयोगका अधिकारीहरु औँल्याउँछन् ।

२०७४ सालको निर्वाचनको दौरान कोभिड स्वास्थ्य सामाग्री घोटालामा बदनाम ओम्नी ग्रुपलाई निर्वाचन आयोगमा भित्र्याएका पौडेलको आर्थिक घोटालाको फेहरिस्त निकै नै लामो रहेको छ । मतदाता परिचयपत्र लगायतका विभिन्न छपाई कार्यक्रममा ओम्नीलाई राज्यको करोडौ रकम सुम्पिएका पौडेललेपछि ओम्नीले छपाईका लागि भारतबाट झिकाएको मेसिन समेत आयोगमा २५ करोडमा बेच्न लगाई बिचौलिएका भूमिका निभाएको आरोप लाग्दै आएको छ । यसबापत पौडेलले करोडौ रकम कुम्ल्याएको आशंका रहेको छ । पौडेलले  २५ करोडमा आफैं बिचौलिया भई भित्र्याएको छपाई उपकरण हाल निर्वाचन आयोगमा काम नलाग्ने अवस्थामा थन्किएको छ ।  आयुक्त पौडेल आफू चोखो भएजस्तो देखाउन उल्टै छपाई उपकरणलाई “सेतो हात्ती” को उपमा दिँदै आएका छन्  । ईन्जिनियर तथा वातावरण विज्ञानमा विश्वविद्यालयबाट उपाधि पाएका पौडेलले भ्रष्टाचार, हेराफेरि र खुराफातमा विद्यावारिधि नै धारण गरेकाे आयोगका अधिकारीको टिप्पणी छ । उनले निर्वाचन आयोगमा कार्यरत ईमान्दार राष्ट्रसेवक कर्मचारीहरुको अझैपनि हुर्मत लिने काम जारी नै राखेका छन्  ।

भ्रष्टाचार निवारण ऐन,२०५९ ले सामान किनेर प्रयोग नगरी थन्क्याएर राख्नुलाईपनि भ्रष्टाचारको कसूर मानेको छ । तर अर्को संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग निर्वाचन आयोगको प्रिन्टरमा भएको भ्रष्टाचारको विषयमा आँखा चिम्लिएर बसेको छ । यसको प्रमुख व्यक्ति आयुक्त पौडेल हुन् ।

निर्वाचन आयोगको कर्मचारीतन्त्रलाई ठूल्ठूलो स्वरमा हप्कीदप्की गरी आफ्नो मुट्ठीमा आजसम्म लिएका पौडेल विगतमा मेलम्ची खानेपानि आयोजनामा कार्यरत रहँदा नै उनको कार्यशैलीलाई लिएर आलोचना हुने गरेको छ । ‘निर्वाचन आयोगमा लागेको भ्रष्टाचारको भाईरसको उपचार गर्ने औषधि र विशेषज्ञ डाक्टर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको छ ।’, नाम उल्लेख नगर्ने सर्तमा निर्वाचन आयोगका एक उच्च कर्मचारीले भने ।

कोभिडको समयमा स्वास्थ्य सामग्री खरिदमा सेटिङमा घोटाला गर्ने ओम्नी समूहका तुलहरि र किशेार पन्थले उनै आयुक्त पौडेल र तत्कालीन सचिव बेगेन्द्रराज शर्मा पौडेलसँगको मिलेमतोमा निर्वाचन आयोगलाई सेकेन्ड ह्यान्ड प्रिन्टर नयाँभन्दा महँगो मूल्यमा कसरी भिडाए भनेर स्वास्थ्य लाइभले प्रमाणसहित समाचार प्रकाशित गर्नेछ ।

क्याटेगोरी : सुशासन
ट्याग : #इश्वरी पौडेल निर्वाचन आयुक्त, #ओम्नी, #ओम्री ग्रुप ओमीक्रोन भाइरस, #निर्वाचन आयोग, #भाइरस, #सेकेन्ड ह्यान्ड प्रिन्टर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com