मुख्यालयको छानबिनमा परे डब्ल्यूएचओका नेपाल प्रतिनिधि राजेश पाण्डव


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव मुख्यालयको छानबिनमा परेको खुल्न आएको छ । नेपालमा बसेर विवादित काम गरेपछि उनी डब्ल्यूएचओ मुख्यालयको छानबिनमा परेका हुन् ।

नेपाल सरकारलाई स्वास्थ्य र महामारीसम्बन्धी सल्लाह दिनेभन्दा पनि राजनीतिक गतिविधिमा डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. पाण्डव सक्रिय हुँदै आएका छन् । उनले सैन्य गतिविधिको झल्को दिने गरी काम गरिरहेको आरोप समेत लाग्दै आएको छ । डब्ल्यूएचओ नेपालको विश्वस्त स्रोतका अनुसार डब्ल्यूएचओको स्विजरल्याण्डको जेनेभामा रहेेको  मुख्यालयले डा. पाण्डवमाथि छानबिन गरिरहेको हो । उनीमाथि मुख्यालयले विस्तृत र गम्भीर प्रकृतिको छानबिन गरिरहेको डब्ल्यूएचओ विश्वस्त स्रोतले स्वास्थ्य लाइभसँग दाबी गऱ्यो ।

कोभिड-१९ को समयमा डा. पाण्डवले डब्ल्यूएचओलाई राजनीतिक भर्ति केन्द्र बनाएका थिए । उक्त विषयमा पनि स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीलाई जागिर लगाउनेदेखि राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई उनले दुरूपयोग गर्दै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्रालयका अधिकारीहरूलाई ‘बाइपास’ गरेर डा. पाण्डवले काम गर्दै आएका छन् । महामारी नियन्त्रणमा सल्लाह दिनेभन्दा उनको रुची ‘परेड’ खेलाउनेमा केन्द्रित देखिन्छ ।

डब्ल्यूएचओलाई भारतीय दूतावासको शाखा कार्यालय जस्तो गरी चलाएकोदेखि गोकर्ण फरेष्ट रिसोर्टमा कार्यक्रम गरेर नेपालका लागि आएको पैसा सक्ने गरेका डा. पाण्डवमाथि आरोप छ । कोभिड र डेंगीका लागि आएको बजेट र प्रोजेक्ट दुरूपयोग गरेको समेत उनलाई आरोप लागेको हो । यसैबीच डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. पाण्डवमाथि छानबिन भइरहेको चर्चा छ । यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । स्वास्थ्य लाइभले स्वतन्त्र पुष्टि गर्ने प्रयास गरिरहेको छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष, #डब्ल्यूएचओ नेपाल प्रतिनिधि, #डा. राजेश सम्भाजीराव पाण्डव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com