ग्लोवल फण्ड हेर्ने सीसीएमको निर्वाचनमै राजनीति, एक महिनासम्म निर्वाचनको टुंगो लागेन 


काठमाडौं । ग्लोवल फण्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सीसीएम) को नयाँ कार्यसमिति चयनमा चरम राजनीति देखिएको छ । यसअघिको कार्यसमिति चयन र कार्यकाल निष्पक्ष रहेको थियो । तर, पछिल्लो समय एक व्यक्ति आउँनै पर्ने भएपछि सीसीएममा चरम राजनीति घुसेको हो ।

गत १ फागुनमा सीसीएमले खुला प्रतिस्पर्धात्मक विधिबाट सीसीएम सदस्यका लागि आवेदन माग गरेको थियो । फागुन १५ गतेभित्र आवेदन पेश गरिसक्नु पर्ने सीसीएमले आह्वान गरेको आशय-पत्रको सूचनामा उल्लेख छ । फागुनमै हुनुपर्ने सीसीएमको चुनाव चैत ४ गते पनि अत्तोपत्तो छैन ।

हाल सीसीएमको उपाध्यक्ष रहेका अच्युत सिटौला पुनःआउने तयारी गरेका छन् । यस अगाडि एचआईभीबाट दुई कार्यकाल सीसीएममा बसेका सिटौला नियम अनुसार अब सीसीएम बाहिर बस्नुपर्छ । तर, एचआईभीबाट हुने प्रतिनिधित्व छाडेर फरक समूहबाट आउन उनले ठूलो राजनीतिक गेम खेलेका छन् । स्वास्थ्य मन्त्रालयले ध्यान नदिए उनको गेम सफल हुने देखिन्छ ।

सीसीएममा आउँनै पर्ने तिकडमका कारण नेपालको कन्ट्री कोअर्डिनेटिङ मेकानिजम (सीसीएम) मात्र हैन, ग्लोवल फण्ड समेत बदनाम हुने निश्चित छ । दुई कार्यकालपछि स्वत छाड्नु पर्ने ठाउँमा समूह परिवर्तन गरेर पुनः आउने खेललेनै सिटौलाको सीसीएममा कति स्वार्थ जोडिएको भन्ने कुरा स्पष्ट हुन्छ ।

सीसीएमको अध्यक्ष स्वास्थ्य सचिव हुने व्यवस्था छ । यस विषयमा सचिवलाई पनि पक्कै जानकारी भएको हुनुपर्छ । यदी जानकारी छैन भने सचिवले समय छदै सम्बन्धित अधिकारीहरुसँग बसेर एउटा निर्णय लिनैपर्छ । सीसीएमको निवर्तमान कार्यसमितिमा अच्युत सिटौला पिएलएचए समूदायबाट आएका व्यक्ति हुन् । नेशनल फेडेरेसन अफ पिपुल युज ड्रग्सबाट प्रतिनिधित्व गर्दै सिटौला सीसीएमको उपाध्यक्ष भएका हुन् ।

विगत ६ महिना अगाडिनै सीसीएमको निर्वाचन हुनुपर्ने हो । तर, प्रक्रिया सुरु गरेको एक महिनासम्म निर्वाचनको मिति टुङ्गो लाग्न सकेको छैन । यसको मुख्य जड भनेकै कसरी सिटौला ल्याउने र आउने भन्नेनै रहेको सरोकारवालाहरूको दाबी छ ।

 

स्वास्थ्य लाइभलाई सीसीएमले दिएको जानकारी अनुसार अहिले पनि मतदाताहरुको सूची तयार पार्ने काम भइरहेको छ । केही दिन अझै त्यही काममा समय लाग्ने छ । अधिकारीहरुका अनुसार देशभरबाट दशजना सदस्यलाई क्षेत्रगत प्रतिनिधित्व हुने गरी सीसीएममा चयन गर्न लागिएको हो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेल सिटौला धार परिवर्तन गरेर पुनः सीसीएममा आउन पाउँछन् पाउदैनन् भन्ने विषयमा निर्वाचन कमिटीले अन्तिममा हेर्ने बताउँछन् । ‘यदि नियमले नमिलेको खण्डमा उसलाई समावेश गराउँदैनौं’, उनले भने । सिटौलाले यस अगाडि दुई कार्यकाल एचआईभीबाट प्रतिनिधित्व गरेको कुरामा सचिव पोखरेलले पनि स्वीकार गरेका छन् । दुई कार्यकाल बसिसकेको व्यक्तिको हकमा दुई पक्षको कुरा सुनेर नियम अनुसार कमिटीले निर्णय गर्ने उनको भनाइ छ।

नियमत ग्लोवल फण्डको प्रपोजल लेखिसकेपछि पुराना पदाधिकारीको काम सकिन्छ । तर, सिटौला भने सीसीएममा बसेरै यसपटक पनि कार्यक्रम पार्न सफल भएको सीसीएमका उच्च अधिकारीहरु बताउँछन् । कुनै पनि व्यक्तिको विरोध गर्नु हाम्रा लागि आवश्यक छैन । तर, नियम अनुसार छ छैन वा जिम्मेवारीमा बसेर आफैले कार्यक्रम लिँदा स्वार्थ बाझिन्छ की भन्ने हाम्रो मुख्य प्रश्न हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताए अनुसार सीसीएममा आउन अन्य क्षेत्रको प्रतिनिधित्वका लागि नेटवर्क भनिएको छ भने एचआइभीका लागि लुज ग्रुप राखिएको छ । जसले सिटौलालाई फाइदा पुग्ने छ ।

‘फरक समूहबाट आफु आउनका लागि सिटौलाले चितवनमा बसेर योजना बनाएको सूचना हामीले पाएका छौं । यसका लागि एउटा कम्प्युटरबाट धेरैको फारम भरिएको छ । उक्त फारममा नाम लेखिएको छ । बाँकी सबै शब्द सेम कपी गरिएको छ’, एक अधिकारीले भने ।

सीसीएमका एक अधिकारीको भनाइ अनुसार ग्लोवल फण्ड अर्थात् सीसीएमको चिर्वानमा कुनै पनि पारदर्शिता देखिएको छैन । यस विषयमा सीसीएमका जिम्मेवार अधिकारी र स्वास्थ्य मन्त्रालयले छानविन गरेर मात्रै निर्वाचनमा जानुपर्ने अधिकारीहरु बताउँछन् ।

सिटौला तिनै विवादित व्यक्ति हुन आफू सीसीएममा बसेर ग्लोवल फण्डको पैसा आफ्नो संस्था त्रिशुली प्लसमार्फत परिचालन गर्दै आएका छन् । सेभ द चिल्ड्रेनलाई ग्लोवल फण्डको पैसा चलाउन दिने भूमिका खेल्ने संयन्त्र सीसीएमका उपाध्यक्ष रहेका सिटौलाले आफ्नो संस्थामार्फत स्वार्थ बाझिनेगरी सेभबाट करोडौंको प्रोजेक्ट हत्याउने गरेका छन् ।

अन्तर्राष्ट्रिय संस्थाहरुमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’लाई ठूलो ‘इस्यू’ मानिन्छ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट जोडिएको भेटिए त्यस्ता व्यक्तिलाई तुरुन्त हटाइन्छ । तर, ग्लोवल फण्डको सीसीएममा बसेर कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने गरी प्रोजेक्ट हत्याउने सिटौलामाथि कुनै कारबाही हुन सकेको छैन । एउटा व्यक्तिलाई लाभ पुर्‍याउने स्वार्थमा सीसीएमकै बदनाम हुने गरी चलखेल भएको देखिन्छ । यसले सीसीएमको हैसियतमाथि नै गम्भीर प्रश्न खडा भएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार, सुशासन
ट्याग : ##एचआईभी, #अच्युत सिटौला, #ग्लोवल फण्ड, #त्रिशुली प्लस, #सीसीएम, #सीसीएम निर्वाचन, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com