सामाजिक सेवा इकाईबाट सेवा लिने मध्ये आधा युवा पुस्ता, १९ करोड मध्ये, १३ करोड ८० लाख बढी उपचारमा छुट


काठमाडौं । पछिल्लो समय नसर्ने रोगको समस्या दिनहुँ बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा सामाजिक सेवा इकाईका माध्यमबाट सेवा लिनेहरु पनि युवा उमेरका बिरामी धेरै देखिएका छन् । स्वास्थ्य क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायको ध्यान पनि नसर्ने रोगको न्यूनिकरण तर्फ मोडिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेसी शाखाकी कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यका अनुसार सामाजिक सेवा इकाईमार्फत ०८० साउन १ गते देखि ०८१ बैशाख १३ गते सम्म ५२ हजार ७ सय ६८ जनाले सेवा लिएका छन् । १० हजार २१९ जना पुन फलोअपमा आएका छन् । आधा लाखको सङ्ख्यामा सेवा लिदा २५ हजार ४ सय ६१ जना युवा अर्थात १९ देखि ४९ वर्ष उमेर समूहका छन् ।

सामाजिक सेवा इकाई स्थापना तथा सञ्चालन निर्देशिकाले तोकेका अति गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, विपद् एंव प्राकृतिक प्रकोपबाट पीडित, गरिब तथा विपन्न आकस्मिक बिरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजातिलाई समेटेको छ ।

कर्माचार्यका अनुसार सामाजिक सेवा इकाई लक्षित समूहका बिरामीहरूको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपयोग अभिवृद्धि गर्ने, निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरू उपलब्ध गराउने, स्वास्थ्य बीमा, विपन्न नागरिक उपचार कोष, जेरियाट्रिक, नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा लगायत सबै स्वास्थ्य सुरक्षा कार्यक्रमको संयोजन एंव सहजीकरण गर्ने उद्देश्यले केन्द्रिय, संघीय, प्रादेशिक, जिल्ला, सामुदायिक, निजी तथा शिक्षण अस्पतालहरूमा सामाजिक सेवा इकाईको स्थापना भएको हो ।

कम्युनिटी नर्सिङ अधिकृत कर्माचार्यले बताए अनुसार देशभरका ८८ अस्पतालमा सामाजिक सेवा इकाई सञ्चालनमा छ । जसमा ६८ वटा स्वास्थ्य संस्थाले दिएको सेवा सुविधाबारे नियमित मन्त्रालयलाई जानकारी गराएका छन् ।

तथ्यांक अनुसार सामाजिक सेवा इकाई मार्फत सेवा लिनेहरूमा आधिकांश ब्राम्हण जाती रहेका छन् । ५२ हजार ७६८ जनाले सेवा लिएकोमा ब्राम्हण समुदायमा १५ हजार ७ सय ५७ जना रहेका छन् । सेवा लिने जनजातिको संख्या १४ हजार ४ सय ६ रहेको छ । त्यसैगरी दलितको संख्या ९ हजार ५५१ जनाले सेवा लिएको कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले बताइन् ।

ज्येष्ठ नागरिक तथा लैंगिक हिंसा व्यवस्थापन शाखाकी कम्युनिटी नर्सिङ अधिकृत कविता अर्यालका अनुसार ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक सञ्चालनको बजेट मार्फत सेवा पाइरहेका छन् । विपन्नहरू सेवा लिन अस्पताल आउँदा पैसा नभएकै कारणले उपचारबाट बञ्चित नहुन भनेर सामाजिक सेवा इकाई कार्यक्रम राखिएको अर्याल बताउँछिन् । तर, उनि सेवा लिनेहरु सबै गरिब र विपन्नको दायरामा पर्नेहरू मात्रै नभएको बताउँछिन् । अर्याल भन्छिन्, सबै सेवा प्रदायक संस्थाहरूमा हैन, कही कतै सामाजिक सेवा इकाईको दायरामा नपर्ने र रकम तिर्न सक्ने व्यक्तिहरूले पनि यो सेवा लिएको गुनासाहरू आउँने गरेका छन् ।

०८० साउन १ गते देखि ०८१ बैशाख १३ गते सम्म ५२ हजार ७ सय ६८ जनाको स्वास्थ्य सेवामा राज्यको जम्मा १९ करोड ६० लाख ८६ हजार २५८ रुपैयाँ खर्च भएको छ । तर, सरकारले सामाजिक सेवा इकाई मार्फत १३ करोड ८० लाख २७ हजार ७ सय ७७ रुपैयाँ छुट दिएको छ । यता गरिबका नाममा १४ करोड ४९ लाख ८१ हजार ५ सय ५५ रुपैयाँ खर्च भएकामा सरकारले सामाजिक सेवा इकाई मार्फत १० करोड ३१ लाख ५२ हजार ३ सय ९३ रुपैयाँ छुट दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com