‘कामचोर’ स्वास्थ्यका कर्मचारीको एउटा भतेर नउठ्दै अर्को तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी भोज, भतेर र भत्तामै लिप्त हुन थालेका छन् । मन्त्रालयको सबै काम छाडेर दुई दिनदेखि चन्द्रागिरी रिसोर्टमा भतेर खाइरहेका स्वास्थ्यका कर्मचारीको फेरि अर्को भोजको तरखरमा रहेको पाइएको छ ।

मन्त्रालयको काम नै ठप्प पारेर डब्ल्युएचओको खर्चमा देशको इज्जत फ्यालेर चन्द्रागिरी रिसोर्टमा भतेर खान पुगेका स्वास्थ्यका कर्मचारी फेरि अर्को भतेरमा जाने तरखरमा छन् । कामचोर प्रवृत्तिका स्वास्थ्यका कर्मचारी नियमित भोज, भतेरमा रमाउन थालेका हुन् ।

आज पनि स्वास्थ्यका अधिकांश कर्मचारी डब्ल्युएचओको भतेरमा चन्द्रागिरीमै रहेका छन् । भोलि बिहान साढे ८ बजे डब्ल्युएचओकै खर्चमा याक एण्ड यती होटलमा अर्को भतेरमा जाने तयारीमा छन् । भाेलीकाे याे भतेरको खर्च पनि डब्ल्युएचओले नै गर्ने परिवारकल्याण महाशाखाले जनाएकाे छ । टाइफाईडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भन्दै डब्ल्युएचओको खर्चमा बिहीबार अर्को भोज राखिएको छ ।

स्वास्थ्य मन्त्रालयकै हलमा गर्न सकिने उक्त कार्यक्रम डब्ल्युएचओको भतेर खानका लागि ‘फाइभ स्टार’ होटलमा राखिएको छ ।

स्वास्थ्यका कर्मचारीको एउटा भतेर नसकिँदै अर्को भतेरको तयारीमा लागेपछि सेवाग्राहीले भने लास्टै दुःख पाएका छन् । स्वास्थ्य मन्त्रालयका उच्च कर्मचारी दाताको पैसामा मोजमस्तीमा लाग्दा विकट ठाउँबाट काम लिएर मन्त्रालय धाउने सेवाग्राहीले भने लास्टै सास्ती खेप्नु परेको देखिन्छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग लगायतसँग यस्ता कार्यक्रम गर्ने प्रयाप्त ठाउँ छन् । यस्ता ठाउँमा कार्यक्रम आयोजना गरिए निकै प्रभावकारी हुन्छ । तर दातृ निकायको भोज, भतेर र भत्ता पाउने भएकाले होटल र रिसोर्टमा कार्यक्रम राखिने गरेको छ ।’, स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने ।

डब्ल्युएचकोको खर्चमा हिजो र आज चन्द्रागिरीको भोजमा मस्ती गरिरहेका स्वास्थ्यका कर्मचारी त्यहिँ संस्थाको आर्थिक सहयोगमा भोलि फेरि यात एण्ड यती होटलमा जान लागेको भन्दै आलोचना समेत सुरू भएको छ ।

विभिन्न एनजीओ/आईएनजीओको खर्चमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका महिनाको ३० दिनमध्ये २१ दिन यस्ता भोज, भतेर र भत्ता खान हिँडेको पाइएको छ । राष्ट्रकै इज्जतनै दाउमा राखेर काम मन्त्रालयको काम छाडी निर्लज्ज भएर स्वास्थ्यका कर्मचारीहरू एनजीओ/आईएनजीओको भोज, भतेरमा नियमित रुपमा जान थालेका छन् ।

आगामी चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म देशभर एकै चरणमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरी १८ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप दिने र अभियान सञ्चालन पश्चात टाइफाईडविरुद्धको खोप नियमित खोपमा सुरुवात गरी १५ महिनाको उमेरका सबै बालबालिकालाई निरन्तर खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

टाइफाईडविरुद्धको खोपको विषयमा छलफल गर्न भन्दै परिवार कल्याण महाशाखाको डब्ल्युएचओको खर्चमा याक एण्ड यती फाइभ स्टार होटलमा कार्यक्रम राखेको पाइन्छ । जबकी महाशाखाहरुले आफूलाई दिएको बजेट समेत खर्च गर्न नसकेको अवस्था छ ।  मन्त्रालयको काम छाडेर स्वास्थ्यका कर्मचारीहरुको दिनचार्य भोज, भतेरमै बित्न थालेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रागिरी रिसोर्ट, #टाइफाईडविरुद्धको खोप, #डब्ल्युएचओ, #भोज भतेर भत्ता, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #होटल याक एण्ड यती 'फाइभ स्टार'

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com