स्वास्थ्यका कामचोर कर्मचारी  

हप्तौ लगाएर सेवाग्राही स्वास्थ्यमाः स्वास्थ्यका अधिकारी मोजमस्तीमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवदेखि कार्यलय सहयोगी समेत गरी १ सय ४० जना कर्मचारीले काम गर्छन् । यति ठूलो संख्यामा रहेका स्वास्थ्यका प्रायजसो कर्मचारी कामचोर देखिएका छन् ।

स्वास्थ्य लाइभले विगत १५ दिन लगाएर विवरण संकलन गर्दा नियमित हाजिर गरेर तलब लिनेहरु १४० जना छन् । काम गर्नेहरुका लागि यो संख्या फालाफाल हो । तर, स्वास्थ्य मन्त्रालयमा कामै हुुँदैन । एउटा २ सय वेडको चिठी बनाउँन पनि स्वास्थ्य मन्त्रालयमा कर्मचारी हुुँदैनन् । यसका लागि कम्तिमा पनि ४ देखि ५ महिना कुर्नुपर्छ । चिठी बनाउने र हाकिमको टेवलसम्म लैजाने सिपाही तैनाथ हुन्छन् तर, दुर्भाग्य निर्णय तहमा बसेकाहरु अपवादबाहेक मन्त्रालयको कार्यकक्षमा भेटिँदैनन् । स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु भाग्यमानी सेवाग्राहीले मात्रै भेट्छन् ।

स्वास्थ्य लाइभले विगत केही दिनदेखि स्वास्थ्य मन्त्रालयका सबै कर्मचारीलाई निगरानी गरेको थियो । उक्त निगरानीबाट स्वास्थ्य मन्त्रालयमा १० तहदेखिमाथिका कर्मचारी कामै गर्दैनन् भन्ने पुष्टि गरेको छ । त्यसको सप्रमाण हामीले सुरक्षित राखेका छौं ।

दुर्गमदेखि हप्तौं लगाएर मेडिकल सामग्रीको भन्सार छुट, स्वास्थ्य सस्था अनुगमनका लागि प्रस्ताव, विपन्न नागरिक सहायताजस्ता अत्यन्तै महत्त्वपूर्ण काम लिएर सेवाग्राही स्वास्थ्य मन्त्रालय आउँछन् । तर, स्वास्थ्य मन्त्रालयका कर्मचारी कहिल्यैँ भेटिँदैनन् । उनीहरु कहाँ भत्ता पाइन्छ भनेर सेवा छाडेर मोजमस्तीमा रमाइरहेका हुन्छन् ।

शुक्रबार मात्रै स्वास्थ्य लाइभले मन्त्रालयमा कर्मचारीको गतिविधिको अवलोकन गरेको थियो । हरेक कर्मचारीको कुर्सीमा स्वास्थ्य लाइभ पुग्दा १ सय ४० मध्ये ३८ जना अनुपस्थित थिए । ४ जना काजमा थिए । उपस्थित हुनेहरु अधिकांश शाखा अधिकृतभन्दा तल्लो तहका थिए । उनीहरु पहुँच नभएका र हाकिम रुझाउन नसक्ने भएकाले काममा घोटिइरहेका थिए । सेवाको खोजीम आएका सेवाग्राहीको भने भिड लागिरहेको थियो ।

स्वास्थ्य मन्त्रलायमा एक जना सचिवले नतिजा दिन नसकेको भन्दै ४ फागुनबाट हाजिर हुनेगरी थप सचिव पठाएको थियो । तर, अवस्थामा केही फरक देखिएको छैन । काम छाडेर घुम्ने घुमिरहेका छन्, काम गर्ने गरिरहेका छन् । प्रशासन र प्रवाधिक गरी दुई सचिव भएको स्वास्थ्य मन्त्रालय ‘धेरै बिरालो भयो भने मुसा मार्दैन’ भनेजस्तै भद्रगोल अवस्थामा देखिएको छ ।

शुक्रबार नआउनेहरुमा सचिव देवकुमारी गुरागाँई, सचिव डा. रोशन पोखरेल, प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, सहसचिव मदन भुजेल, सहसचिव डा. मदन उपाध्याय, सहसचिव डा. संगिता कौशल मिश्रा छन् । गज्जवको कुरा त यिनीहरुका कारण शाखा नै बन्द भएको छ । प्रशासनतर्फकी सचिव गरागाँई र कर्मचारी प्रशासन शाखा प्रमुख भुजेल नआउँदा प्रशासनतर्फको सबै काम ठप्प भए । यता गुणस्तर तथा अनुगमन महाशाखा प्रमुख डा. मदन उपाध्याय नहुँदा उक्त महाशाखाले गर्ने काम ठप्प भएका छन् ।

स्वास्थ्य मन्त्रालयको सबैभन्दा महत्त्वपूर्ण महाशाखा अन्तर्राष्ट्रिय समन्वय महाशाखा हो । त्यसको नेतृत्व डा. संगिता कौशल मिश्राले गरिरहेकी छन् । तर, उनीपनि आवश्यकभन्दा बढी अनुपस्थित भएको स्वास्थ्य लाइभले पाएको छ । जसले कामहरु ठप्प छन् । हुन त समाचार आएपछि काम कहाँ रोकिएको छ भनेर प्रतिप्रश्न पनि आउन सक्छ । तर, हामीले उनीहरु कति बजे मन्त्रालयमा आए, कति बजे निस्के र कति दिन आएनन् सबै विवरण सुरक्षित राखेर बसेका छौं ।

स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र नजानुको प्रमुख फाइदा अहिले स्वास्थ्यका अधिकारीहरुले लिएका छन् । त्योपनि जनतालाई सेवा समेत रोकेर । स्वास्थ्य लाइभले गरेको निगरानीमा प्रशासनतर्फकी सचिव गुरागाँई स्वास्थ्य मन्त्रालयमा ४ फागुनबाट हाजिर भएकी हुन् । यस १७ दिनको अवधिमा उनी शुक्रबार मात्रै अनुपस्थित भएकी छन् । स्वास्थ्यका अधिकारीहरु भन्छन्, ‘उनको कुनै विशेष काम हुन सक्छ ।’, त्यस्तै प्राविधि सचिव डा. रोशन पोखरेल पनि २० दिनको अवधिमा तीनदिन अनुपस्थित भएका छन् । प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकाले उनीबिचमा धेरै काजमा थिए । यादव तीनदिन मात्रै अनुपस्थित भएको हाम्रो अनुसन्धानले देखाउँछ । यदी सरकारी सिस्टमले फरक भएको खण्डमा हामीले यसलाई सच्याउने छौं ।

प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी २० दिनमा दुईदिन मात्रै अनुपस्थित पाएका छौं । सहसचिव मदन भुजेल शुक्रबार मात्रै अनुपस्थित भएको उनको सचिवालयले जनाएको छ । डा. मदन उपाध्याय २० दिनको अवधिमा तीनदिन अनुपस्थित भए भने, एक दिन काजमा छन् । यता अत्यन्तै महत्त्वपूर्ण महाशाखाको जिम्मेवारी मात्र हैन मन्त्रालयको प्रवक्ता समेत रहेकी डा. संगिता कौशल मिश्रा फागुन महिनाको २० दिनमा तीनदिन अनुपस्थित र आठ दिन काजमा रहेको पाइएको छ ।

सहसचिव  डा. कृष्ण पाैडेल, उपसचिव प्रकाश अधिकारी, उपसचिव बाबुराम घिमिरे ,उपसचिव कपिल तिमिल्सिना कार्यकक्षमा थिए । उनीहरु प्रायजसो कुर्सीमा हुन्छन् । . नियमित कुर्सीमा बसेर र सेवा प्रवाह गर्ने कर्मचारीलाई हामी सम्मान गर्दै उनीहरुकाे २० दिनकाे गतिविधि नियमित सार्वजनिक गर्नेछौं ।

स्वास्थ्य लाइभका प्रतिनिधिमार्फत स्वास्थ्यका सबै कर्मचारीको कार्यशैलीकाबारेमा शुक्ष्म रुपमा अध्ययन, अनुसन्धान गरेका छौं । त्यसको सबिस्तार सार्वजनिक गर्दै जानेछौं । मोजमस्तीमा मात्र रमाउने स्वास्थ्यका कामचोर कर्मचारीलाई उच्च निगरानीमा राखेर यिनीहरुको भत्ते जागिरप्रति स्वास्थ्य लाइभले निरन्तर फलोअप गर्नेछ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## डा. श्याम सुन्दर यादव, ## प्रमुख विशेषज्ञ, ##डा रोशन पोखरेल, ##मदन भुजेल, #कामचोर कर्मचारी, #डा. कृष्ण पौडेल, #डा. संगिता कौशल मिश्र, #देवकुमारी गुरागाईं, #सहसचिव, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com