स्वास्थ्य लाइभ फलोअप

कोरोनाकालमा भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको निष्कर्ष


काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको निष्कर्ष निकालेका छन् । प्रदेश सरकारले बनाएका भ्यू टावर र स्विमिङ पुलको निरीक्षण गरेपछि उनले राज्यको ढुकुटीको दुरुपयोग र अनियमितता भएको निष्कर्ष निकालेका हुन् ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले बनाएका भ्यू टावर र स्विमिङ पुलको निरीक्षणपछि मन्त्री श्रेष्ठले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

तत्कालीन पर्यटनमन्त्री अरुण नेपालले आफ्नै क्षेत्रमा बनाएको स्विमिङ पुल र तत्कालीन अर्थमन्त्री कैलाश ढुंगलले आफ्नै गाउँमा बनाएको भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको उनको निष्कर्ष छ । तत्कालीन पर्यटनमन्त्री नेपालले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा ४ करोड हालेर स्विमिङ पुल बनाएको खुल्न आएको छ ।
तत्कालीन अर्थमन्त्री ढुंगेलले पनि रामेछापको खाँडादेवी गोगनपानी सुलीथुम्का ३ करोड ३५ लाख ४४ हजार रुपैयाँ हालेर भ्यू टावर बनाएका छन् । त्यस्तै स्विमिङ पुलमा १ करोड बढी बजेट दुरुपयोग गरेका हुन् ।

रामेछापको खाँडादेवी, सिन्धुलीको सिद्धबाबा चुचुरो, सिन्धुपाल्चोकको मुढे, दोलखाको जिरी र रामेछापको शिवालय  भ्यू टावर निरीक्षण गरेपछि बजेट दुरुपयोग र आर्थिक अनियमितता भएको मन्त्री श्रेष्ठको निष्कर्ष छ । ती भ्यू टावर प्रदेश सरकारको करोडौं लागतमा बनेका हुन् । यी आयोजनाहरुका अनियमितता भएको जनस्तरबाट गुनासो आएको सुनाउँदै उनले छानबिन समिति गठन गरेर अध्ययन गर्ने तयारी भइरहेको स्वास्थ्य लाइभलाई जानकारी दिए ।
आगामी दिनमा भ्यू टावर र स्विमिङ पुलका नयाँ योजना बजेटमा समावेश नगरिने पनि मन्त्री श्रेष्ठको घोषणा छ । बागमती प्रदेशले यस्ता १० वटा भ्यू टावर र ३ वटा स्विमिङ पुल बनाएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार, सुशासन
ट्याग : #अरुण नेपाल, #कैलाश ढुंगेल, #नदी किनारमा ४ करोडको स्विमिङ पुल, #बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, #भोटेकोशी, #भ्यू टावर, #लामोसाँघु, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, #स्विमिङ पुल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com