दिपेन्द्रको प्रस्तावमा कोरोनाकालमा अनधिकृत भाडामा लगाएको त्रिभुवन पार्कको जग्गा छानबिनमा


हेटौंडा । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा कोरोनाकालमा अनधिकृत भाडामा लगाएको त्रिभुवन पार्कको जग्गामाथि छानबिन हुने भएको छ । काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कको जग्गा शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले सरकारको स्वीकृतिबिनानै निजी कम्पनीलाई भाडाका दिएको स्वास्थ्य लाइभले खुलासा गरेपछि पर्यटनमन्त्री श्रेष्ठको प्रस्तावमा छानबिन समिति गठन गरिएको हो ।

पर्यटनमन्त्री श्रेष्ठका अनुसार त्रिभुवन पार्कको जग्गा निजी कम्पनीलाई भाडामा लगाएको विषयमा छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव विनोद भट्टराईको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनेको छ ।

समितिका संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रतिनिधि रहने मन्त्री श्रेष्ठले जानकारी दिए । समितिले १ हप्ताभित्र प्रतिवेदन बुझाउने छ ।सोमबारदेखिनै समितिले फिल्डमा गएर काम थाल्ने तयारी गरिरहेको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले अनधिकृत रुपमा निजी कम्पनी श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई कौडीको भाउमा भाडामा लगाएको कुरा स्वास्थ्य लाइभले प्रकाशित गरेपछि पर्यटनमन्त्री श्रेष्ठले चासो दिएका थिए । प्रति रोपनी मासिक ९ हजार १५० पाउने गरी उक्त एनजिओले त्रिभुवन पार्कको ५० रोपनी सरकारी जग्गा २० वर्ष उक्त निजी कम्पनीलाई फन पार्क सञ्चालनका लागि भाडामा दिएको पाइन्छ ।

कोरोनाकालका त्रिभुवन पार्कको जग्गा कौडीको भाउमा भाडामा लगाएको विषयमा तथ्यसहित स्वास्थ्य लाइभले निरन्तर फलोअप गरेपछि पर्यटनमन्त्री श्रेष्ठ एक्सनमा उत्रिएका हुन् । कोरोनाकालमा भएको यो बदमासीको विषयमा स्वास्थ्य लाइभले अन्तिम टुंगो नलागेसम्म निरन्तर खबरदारी र निगरानी गर्नेछ ।

क्याटेगोरी : समाचार
ट्याग : #जग्गा छानविन, #त्रिभुवन पार्क फन पार्कलाई भाडामा, #बागमती प्रदेश, #राज्यको सम्पत्ति दुरुपयोग, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com