यी हुन् सरकारी गाडीमा अनधिकृत रजाइँ गर्ने स्वास्थ्यका अधिकारी


काठमाडौं । कानुनले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीका पदाधिकारीलाई मात्र सवारी साधन दिने व्यवस्था गरेको छ ।

सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ अनुसार विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले मात्र सवारी साधन, चालक र इन्धनको सुविधा पाउँछन् । तर स्वास्थ्य मन्त्रालयका राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीबाहेकका कर्मचारीले पनि सरकारी गाडीमा अनधिकृत रजाइँ गरिरहेको स्वास्थ्य लाइभले फेला परेको छ ।

कानुनले गाडी सुविधा दिन नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकाशं उपसचिव वा सो सरहका कर्मचारीले सवारी चालक र इन्धनसहित विलासी गाडीमा मस्ती गरिरहेको पाइएको हो । कानुन अनुसार गाडीको सुविधानै दिन नमिल्ने स्वास्थ्यका कर्मचारीले अनधिकृत सुविधा लिँदा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगयतका निकायहरु गैर जिम्मेवार भएर बसेका छन् ।

स्वास्थ्य मन्त्रालयका उपसचिवसरहका कर्मचारीले मात्र होइन त्यहीँ हैसियतमा मन्त्रीको प्रेस सल्लाहकार भएर आएका व्यक्तिले पनि सरकारी गाडीमा कानुनविपरीत रजाइँ गररिहेको देखिन्छ । कानुनले निषेध गरेको सुविधा लिने स्वास्थ्यका ती कर्मचारीले लिएको सुविधा सरकारी बाँकी सरह असुल गर्न लगाउनु पर्ने महालेखा परीक्षकको कार्यालय समेत मौन बसेको छ । महालेखाका अडिटरहरू गैरकानुनी लाभ लिने स्वास्थ्यका कर्मचारीप्रति अनदेखा गर्दै हिँडेको पाइन्छ । त्यस्ता अडिटरलाई महालेखाले परीक्षकले कारबाहीको दायरामा ल्याउन जरुरी छ । अख्तियारले पनि छानबिन गरेर गैर कानुनी सुविधा लिने स्वास्थ्यका ती अधिकारीलाई कारबाही गर्न आवश्यक देखिन्छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार सरकारी गाडीमा अनधिकृत रजाइँ गर्ने स्वास्थ्यका कर्मचारीमा उपसचिव सानुबाबु अधिकारीदेखि हालै फिर्ता बोलाइएका स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारी समेत रहेका छन् ।

सरकारले इन्धन आपूर्ति र देशको ढुकुटीमा समस्या देखाउँदै हप्ताको दुईदिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इन्धन जोगाउन र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन त्यो रणनीति अघि सारेपनि स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले इन्धन, ड्राइभर मालाकाजी  केसीसहित फोर्डको कारमा अनधिकृत रजाइँ गरिरहेका छन् ।

उपसचिवसरहको हैसियत भएका सापकोटाले सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ ले नदिएको गाडी, इन्धन र ड्राइभर सुविधा लिएर शान देखाइरहेका छन् । कानुनविपरीत सुविधा लिएर अनियमितता गर्ने उनमाथि कसैले एक्सन लिएको देखिँदैन ।

प्रशासनतर्फका उपसचिव सानुबाबु अधिकारीले पनि फोर्डको कार अनधिकृत रुपमा चढेर हिंडिरहेका छन् । उनी कार्यालय समयमा स्वास्थ्य मन्त्रालयको उक्त गाडी अनधिकृत रुपमा लिएर कहाँ जान्छन् स्वास्थ्यका अधिकारीहरू पत्तै पाउँदैनन् । गैर कानुनी सुविधा लिने तर कार्यालय समयमा कार्यकक्षमा नभेटिनेमा उपसचिव अधिकारी पर्छन् ।

स्वास्थ्य मन्त्रालयकै अर्का उपसचिव मोहन निरौला पनि फोर्डकै कार अनधिकृत रुपमा लिएर रजाइँ गरिरहेका छन् । त्यस्तै उपसचिव सरहकै डा. गुणनिधि शर्मा स्वास्थ्य मन्त्रालयका ड्राइभर बाकुकाजी लामासहित सुजुकीको ग्राण्ड भिटरा गाडी लिएर हिँड्ने गरेका छन् ।

त्यस्तै उपसचिव(निर्देशक) कपिल तिमिल्सिना फोर्डको कार आफैं लिएर हिँड्छन् । प्रशासनका उपसचिव बाबुराम घिमिरे महिन्द्राको जीप र प्रकाश अधिकारी भक्सबाइगेन जीप आफैं चलाउँछन् ।

उपसचिव रोशनी देवी कार्की चालक दिलबहादुर थापासहित स्वास्थ्य मन्त्रालयको स्वामित्वमा रहेको टोयोटाको प्राडो गाडीमा रजाइँ गर्दै आएकी छिन् । उपसचिव रेशराज शर्मा पनि चालक संजय केसीसहित टोयोटाको प्राडो गाडीमा हिँड्ने गरेका छन् । कानुनका उपसचिव शर्मा गैरकानुनी सुविधामा लिप्त भएको देख्दा कानुन मन्त्रालयका अधिकारीहरूनै आश्चर्य प्रकट गर्छन् ।

स्वास्थ्य मन्त्रालयका उपसचिव चालक टेक बहादुर बुढाथोकीसहित मन्त्रालयको जीप अनधिकृत उपभोग गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको उपसचिव सरहकी कर्मचारी डा. सुस्मीता भण्डारी चर्को मूल्य पर्ने टोयोटाको ल्याण्डक्रुजर गाडीमा अनधिकृत मस्ती मारिरहेकी छिन् । उनले मन्त्रालयकै ड्राइभर मंगले वाइवा लिएर हिँड्ने गरेकी छिन् ।

त्यस्तै उपसचिव समिर अधिकारी पनि फोर्डको कार चढ्ने गरेका छन् । हिजो मात्र सरकारबाट फिर्ता बोलाइएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले मित्सुबिसीको पजेरो लिएर शानका साथ कुद्ने गरेका छन् । विडारी गैरकानुनी सुविधामा लिप्त रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको आरोप छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : #उपसचिव अनधिकृत गाडी सुविधा, #सानुबाबु अधिकारी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com