स्वास्थ्य लाइभ फलोअप

कोभिडमा गोलघर गाउँपालिकाले भाडामा लगाएपछि एक्सन लिने तयारीमा पर्यटनमन्त्री श्रेष्ठ


काठमाडौं । कोभिडको मौका छोपेर मन्त्रालयले बनाउँदै गरेको गोलघर दोलखाको शैलुङ गाउँपालिकाले भाडामा लगाएपछि संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ एक्सन लिने तयारी थालेका छन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले दोलाखाको शैलुङस्थित बनाउँदै गरेको गोलघर तत्कालीन गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल र वडाध्यक्ष ध्रव कुमार श्रेष्ठको मिलेमतोमा भाडामा लगाएको तथ्य स्वास्थ्य लाइभले खुलासा गरेपछि पर्यटनमन्त्री श्रेष्ठले एक्सन लिने तयारी गरेका हुन् ।

स्वास्थ्य लाइभसँग कुरा गर्दै पर्यटनमन्त्री श्रेष्ठले शैलुङ गाउँपालिकाले मन्त्रालयको स्वीकृति नलिई गोलघर ठेक्कामा लगाएको स्पष्ट पारे । यो विषयलाई छानबिनको दायरामा ल्याएर आवश्यक कारबाही गरिने उनको भनाइ छ । यसका लागि मन्त्रालयले तत्काल कदम चाल्ने पर्यटनमन्त्री श्रेष्ठले बताए ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले साढे २ करोड बढी बनाउँदै गरेको शैलुङस्थित गोलघर निर्माण सम्पन्न नहुँदै गाउँपालिकाले भाडामा लगाएको देखिन्छ । गाउँपालिकाका तत्कालीन अध्यक्ष दुलाल भाडामा दिने र वडाध्यक्ष श्रेष्ठ भाडामा लिने भएर प्रदेश सरकारको संरचना हिनामिना गरेको स्वास्थ्य लाइभले फेला पारेको छ । शैलुङ गाउँपालिकाका तत्कालीन अध्यक्ष दुलालले पनि प्रदेश सरकारको स्वीकृति नलिई गोलघर भाडामा लगाएको स्वीकार गरे ।

बागमती प्रदेशको उत्कृष्ट गाउँपालिकाको हैसियतमा प्रदेश सरकारबाट पुरस्कार थापेका शैलुङ्का अध्यक्ष दुलालले प्रदेश सरकारको सम्पत्ति आफूखुसी हिनामिना गरेका हुन् । उनलाई पुरस्कृत गर्ने तत्कालीन सरकारले यो विषयमा पत्तै पाएन ।

गाउँपालिकाले सरकारी संरचना आफूखुसी भाडामा लगाउन कानुनले मिल्दैन । स्वास्थ्य लाइभको खोजीमा प्रदेश सरकारद्वारा निर्माणाधीन उक्त गोलघर भाडामा लगाउँदा गाउँपालिकाले अख्तियारको दुरुपयोग गरेर सीधै भ्रष्टाचार गरेको देखिन्छ ।  गाउँ कार्यपालिकाको सदस्य रहेका वडाध्यक्षले नै स्वार्थ बाझिने गरी आफैंले प्रदेश सरकारको गोलघर भाडामा लिएको खुल्न आएको छ । आफ्नो सम्पत्तिमा क्षेत्राधिकारविपरीत गाउँपालिकाले भाडामा लगाएपछि यो विषयमा पर्यटनमन्त्री श्रेष्ठले एक्सन लिने तयारी गरेका हुन् ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव मदन कोइरालाले शैलुङमा बन्दै गरेको गोलघर आवश्यक कानुन निर्माण गरेर व्यवस्थापन गरिने बताए ।

त्यसो त शैलुङ गाउँपालिकाका तत्कालीन अध्यक्ष दुलालले कोभिडको मौका छोपेर २५ लाखमा ६ वटा पोखरी खनाएका छन् । डोजर लगाएका खन्दा एकदिन पनि लाग्ने एउटा रिचार्ज पोखरी खन्न उनले ४ लाख बढी खर्च गरेको स्वास्थ्य लाइभले फेला पारेको छ । यत्र तत्र सर्वत्र बदमासी गर्ने दुलालको गाउँपालिका उत्कृष्ट बनाएभन्दा उच्चमित हुनुपर्ने देखिन्छ । यो गाउँपालिका सुशासनमा होइन भष्टाचारमा चाहिँ उत्कृष्ट रहेको स्वास्थ्य लाइभको खोजीबाट पुष्टि हुन्छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com