वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरीमाथि भ्रष्टाचार मुद्दाको तयारी


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाउने तयारी गरेको छ ।

नपाएको ओहोदा पाएर भ्रष्टाचारजन्य कसूर गरेको आरोपमा उपकुलपति गिरीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको हो । वीपी प्रतिष्ठानका उपकुलपति गिरीले प्राध्यापकको फर्जी उपाधि देखाउँदै आएका थिए । उनले लेख्दै आएको प्राध्यापक किर्ते रहेको स्वास्थ्यमन्त्री नेतृत्वको छानबिन समितिले पनि पुष्टी गरेको छ ।

किर्ते प्राध्यापक डा. गिरीले उक्त उपाधि नक्कली भएको पुष्टि भएपछि पछिल्लो समय नामको अगाडि प्राध्यापक लेख्न छाडेका छन् ।  गिरीले लेख्दै आएको किर्ते प्राध्यापकको उपाधिको विषयमा अख्तियारमा दर्जनौं उजुरी परेका छन् । त्यो विषयमा अख्तियारको छानबिन टुंगिने अवस्थामा पुगेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेद प्रसाद भण्डारीले आयोगबाट वीपी प्रतिष्ठानका उपकुलपति गिरीमाथि अनुसन्धान हुँदै गरेको स्पष्ट पारेका छन् ।

रामेछापका शशि विक्रम कार्की समेतले अख्तियारसँग सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम मागेको सूचनामा वीपी प्रतिष्ठानका उपकुलपति गिरीले प्राध्यापकको उपाधि दुरुपयोग गरेको विषयमा अनुसन्धान भइरहेको जानकारी गराएको छ । अनुसन्धान हुँदै गरेको विषयमा आयोगले अनुसन्धान कार्यलाई प्रभावित गर्ने गरी अन्य कुनै उपलब्ध गराउन नसक्ने स्पष्ट पारेको छ ।

अख्तियार स्रोतका अनुसार वीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीले प्राध्यापक पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको विषयको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । यो विषयमा चाँडै मुद्दा दायर गर्ने गरी काम भइरहेको अख्तियार स्रोतको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #अख्तियार दुरूपयोग अनुसन्धान आयोग, #उपकुलपति डा. ज्ञानेन्द्र गिरी, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com