काठमाडौंमा स्वास्थ्य पार्क बनाउने तयारी


काठमाडौं । देशको राजधानी जस्तो ठाउँमा खुला ठाउँको अभाव हुँदा मानिसहरुलाई शारीरिक व्यायाम गर्न समस्या परिरहेको छ । काठमाडौंमा अहिले सार्वजनिक र खुला स्थानको खोजी भइरहेको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकामा स्वास्थ्य पार्क बनाउने भएका छन् । भूमाफियाबाट फिर्ता ल्याउन सफल काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगरस्थित जग्गामा स्वास्थ्य पार्क बनाउने उनको तयारी छ ।

योग अन्वेषक डा. राजु अधिकारीसँगको छलफलमा पर्यटन मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाभित्र पर्ने बुद्धनगर, बानेश्वर, देवीनगर र अनामनगर क्षेत्रमा स्वास्थ्य पार्क बनाउन सकिने प्रस्ताव राखेका छन् । डा. अधिकारीले काठमाडौंमा स्वास्थ्य पार्क आवश्यक रहेको बताउँदै आएका छन् । स्वास्थ्य पार्क बनाउनका लागि पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बजेट समेत विनियोजन गरेका छन् ।

पर्यटनमन्त्री श्रेष्ठले आफैं मुद्दा लडेर भूमाफियाबाट फिर्ता ल्याएको बुद्धनगरस्थित युएन पार्कको जग्गामा पार्क बनाउन आवश्यक बजेट राखिएको बताए । डा. अधिकारीसँगको छलफलमा त्यो ठाउँलाई स्वास्थ्य पार्कको रुपमा विकास गर्न सकिने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयसँगै रहेको सार्वजनिक जग्गामा पनि स्वास्थ्य पार्क बनाउन सकिने उनले जानकारी दिए । वडा भवनसँगैको सार्वजनिक जग्गामा पार्क बनाउन पर्यटनमन्त्री श्रेष्ठले आवश्यक बजेट विनियोजन गरेका छन् । त्यो जग्गा पनि भूमाफियाको कब्जाबाट उनकै नेतृत्वमा सार्वजनिक स्वामित्वमा ल्याइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सिंहदरबार प्रहरी वृत्तसँगैको जग्गामा पनि स्वास्थ्य पार्क बनाउन सकिने पर्यटनमन्त्री श्रेष्ठको धारणा छ । त्यो ठाउँमा पार्क बनाउन पनि बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको छ ।

यता बागमती प्रदेशका संस्कृति तथा पर्यटन सचिव मदन कोइरालाले काठमाडौं महानगरपालिका वडा नम्बर १० देविनगरस्थित कुमाले धारामा रहेको सार्वजनिक जग्गामा स्वास्थ्य पार्क बनाउन सकिने बताएका छन् ।  डा. अधिकारीलाई उक्त ठाउँको अवलोकन गरेर स्वास्थ्य पार्क बनाउन उनको आग्रह छ । संस्कृति तथा पर्यटन मन्त्रालयले कुमाले धारामा पार्क बनाउन पनि आवश्यक बजेट राखेको छ ।

काठमाडौं महानगरपालिका र नेपालमै पहिलोपटक स्वास्थ्य पार्क निर्माणका अवधारणा अघि सारिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र योग अन्वेषक डा. राजु अधिकारीको सहकार्यमा काठमाडौंमा स्वास्थ्य पार्क बनाउने तयारी भइरहेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #पयर्टनमन्त्री दिपेन्द्र श्रेष्ठ, #बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, #योग अन्वेषक डा. राजु अधिकारी, #स्वास्थ्य पार्क

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com