वीपी प्रतिष्ठानका किर्ते प्राध्यापक उपकुलपति गिरीद्वारा करोडौंको घोटाला


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले अनियमित तवरले करोडौंको उपकरण महँगोमा खरिद गरेको फेला परेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आशिर्वाद रहेको धाक दिँदै किर्ते प्राध्यापक गिरी वीपी प्रतिष्ठानमा अनियमितताको आतंक मच्चाउन थालेका छन् ।

प्रतिष्ठानले गत मिति २०७८/०३/०६ गते सार्वजनिक रूपमा आव्हान गरेको “Supply, delivery and Installation of ICU setup and Ventilator” सम्बन्धी ३० शय्याको आईसीयू सेवा प्रारम्भ गर्ने संरचना र आवश्यक भेन्टिलेटर खरिदसम्बन्धी बोलपत्रमा बोलपत्र स्वीकृति गर्ने क्रममा कमिसनको डरलाग्दो खेल भएको बुझिएको छ । उक्त खरिद प्रक्रियालाई सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले रोक लगाएको तर सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको आडमा उपकुलपतिले आफ्नो अधिकारबाहिर गएर रातारात खरिद आदेश जारी गरेको कागजातहरु प्राप्त भएको छ ।

करिब १७ करोड लागत अनुमानको यो ठेक्कामा किर्ते प्राध्यापक रहेको आरोप समेत लागेका उपकुलपति गिरीले ठेक्का खोल्नु पूर्व नै मेडिकल उपकरण व्यापारी सन्दिप राउतको M/S Meditech Pvt. Ltd. लाई ठेक्का सुम्पिने प्रपन्च गरि खरिद अधिकारी सागर ताम्राकारमार्फत खरिद प्रक्रिया अगाडी बढाएको प्रतिष्ठानको खरिद शाखाको स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

“Supply, delivery and Installation of ICU setup and Ventilator” सम्बन्धी बोलपत्र खोल्दा उपकुलपति गिरीसँग साढे तीन करोड कमिसन सेटिङ भएको M/S Meditech Pvt. Ltd. ले साढे १६ करोडमा ठेक्का हालेको देखिन्छ ।  अर्को कम्पनीले भने १२ करोडमा ठेक्का हालेको पाइन्छ । ‘उपकुलपति गिरीलाई जसरी पनि सो ठेक्का M/S Meditech Pvt. Ltd. लाई दिनु थियो । उनले सार्वजनिक खरिद ऐन, नियम केही हेरेनन् । प्रतिष्ठानको मूल्यांकन समितिमा दवाव सिर्जना गराई जबर्जस्ती उक्त कम्पनीलाई करोडौं कमिसन खाएर ठेक्का दिने निर्णय गरे ।’,

वीपी प्रतिष्ठान उच्च स्रोतले स्वास्थ्य लाइभसँग भन्यो । ठेक्का दिने निर्णय गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले गत मिति २९७८/९/२२ मा पत्राचार गरि ठेक्कामा अनियमितता भएको र सो प्रक्रिया रोक्न निर्देशन दियो । सोही निर्देशन पालन गर्ने क्रममा प्रतिष्ठानले ठेक्का रद्द गरेको पत्राचार मिति २०७८/९/२९ मा दियो ।

प्रतिष्ठानले ठेक्का रद्द गरेपछि उपकुलपति गिरीसँग मिलिभगत भएको M/S Meditech Pvt. Ltd. ले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।  अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको देखिन्छ  ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशले खरिद प्रक्रियालाई यथास्थानमा राख्नु भनेता पनि अदालतको मानहानी गर्दै उपकुलपति गिरीले बदमासी गरेको खुल्न आएको छ । खरिद अधिकारी सागर ताम्राकारमार्फत आदेश पहिलाको मितिमा ठेक्का सम्बन्धी फाइलका कागजातहरु हेरफेर गर्न लगाउँदै मिति २०७९/२/११ मा खरिद आदेश जारी गरेको तथ्य फेला परेको छ । यस सम्बन्धी मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै छ ।

 

 

उपकुलपति गिरीले आफ्नो अधिकार क्षेत्र बाहिर गएर प्रतिष्ठानमा गठन नभैसकेको कार्यकारीणी समितिमा अनुमोदन गराउने भनेर ठेक्का स्वीकृत गरेका छन् । उनले सार्वजनिक खरिद ऐन,नियम र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशनलाई अवज्ञा गरेर सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको आडमा करोडौं कमिसन कुम्ल्याएको प्रतिष्ठानको खरिद शाखा स्रोतले बतायो ।

उपकुलपति गिरीको मेस नै व्यापारी चलाउछन् !

प्रतिष्ठानका इन्जिनियरिंग शाखाका एक इन्जिनियरको अनुसार रक्सीका शौखिन उपकुलपति गिरीले खरिद शाखा प्रमुख र इन्जिनियरिङ्ग शाखा प्रमुखलाई नियमित आफ्नी निवासमा विदेशी रक्सी ल्याउन निर्देशन दिएका छन् । त्यसै गरि उपकुलपति गिरीको निवासमा आवश्यक राशन र अन्य सामग्री ल्याउने निर्देशन प्रतिष्ठानका सोही क्षेत्रका व्यापारीहरुले पाएका छन् ।

ठेक्का सम्बन्धी तथ्य

👉अनियमित देखेर सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद सम्झौता रद्द गरेको ।

👉उक्त निर्णयविरुद्ध सर्वोच्चले जारी गरेको अल्पकालीन आदेशमा ठेक्का प्रक्रिया यथास्थितिमा राख्नु भन्ने आदेश भएको ।

👉अदालतको आदेश र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णय विरुद्द खरिद आदेश जारी गरेको ।

👉ठेक्का प्रक्रियामा उपकरणको स्पेसिफिकेसन तयार गर्दै MB MeDiTech ले सप्लाई गर्न सक्ने उपकरणलाई मात्र मिल्ने गरि मिलिभगतमा स्पेसिफिकेसन तयार गरेको ।

👉सबै भन्दा कम मूल्यमा बोलपत्र दर्ता गर्ने कम्पनी भन्दा लगभग ४ करोड मूल्यको उपकरण खरिद गरेर ३ करोड कमिसन खाएको ।

👉यसै MB MeDiTech का सञ्चालक सन्दिप राउतको कम्पनीबाट विगतमा १४ करोडको सीटी स्क्यान मेसिन खरिद गरेर कमिसन खाएको ।

३० बेडको ICU (IFB No: BPKIHS/077/078/073) स्वास्थ्य मन्त्रालयले कोभिडको तेस्रो लहरको व्यवस्थापनका लागि उपलब्ध गराएको बजेट अन्तर्गत

१. अस्पताल निर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिले कुन कुन बोलपत्र प्रभावग्राही वा अप्रभावग्राही हो भनि ठोस राय उपलब्ध नगराएको । (२०७८/०३/२० र २०७८/०७/०४)

२. यो बोलपत्रमा कुन कुन बोलपत्रदाताहरुको बोलपत्र प्रभाबग्राही वा अप्रभाबग्राही छ भनि प्रतिष्ठानको मूल्यांकन समिति र बायोमेडिकल इन्जिनियरलगायतका आधिकारिक संयन्त्रलाई दवाव दिने नियतले उपकुलपतिले प्रदेश स्वास्थ्य तथा आपूर्ति केन्द्रका प्रमुखलाई ठोस राय उपलब्ध गराईदिन अनुरोध गरेको । (२०७८/०७/१६)

३. प्रदेश स्वास्थ्य तथा आपुर्ती केन्द्रका बायोमेडिकल इन्जिनियरले पनि ठोस राय उपलब्ध नगराएको र अस्पताल निर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितले तयार परेको प्राविधिक रिपोर्टलाई नै घुमाउरो पारामा स्वीकार गरेको । (२०७८/०७/१७)

४. यो बोलपत्रमा कानुनि राय पेश गर्न उपकुलपतिले आफ्नो कार्य सहज बनाउन र अनुकुल कानुनी राय दिन मासिक तलव दिएर राखेका प्रतिष्ठानका कानुनि सल्लाहकार श्री शान्तिराम भण्डारीलाई उपकुलपतिले अनुरोध गरेको । (२०४७८/०८/०५)

५. प्रतिष्ठानका कानुनि सल्लाहकार शान्तिराम भण्डारीले उपकुलपतिको पत्र प्राप्त गरेकै दिन उपकुलपतिको आर्थिक उद्देश्य पुरा गर्न हतार हतार गर्न कानुनी राय उपलब्ध गराएको । उक्त कानुनी रायमा मूल्यांकनमा समाबेश गरिएका दुई थान बोलपत्र मध्ये सबैभंदा न्यून कबोल गर्ने बोलपत्रलाई आंशिक रहेको जानकारी गराएको । Evaluation and comparison of bid को बुँदा नं. ३० र ३१ मा उल्लेखित Deviation Reservations and Omissions, Determination of Responsiveness को प्रतिकुल देखिन्छ भनि कानुनी राय उपलब्ध गराएको । (२०७८/०८/०५)

६. उपकुलपतिले यस प्रतिष्ठानका आर्थिक सल्लाहकार (उपकुलपतिले आफ्नो अनुकुल नियुक्त गरेको व्यक्ति)लाई राय मागेको l (२०७८/०८/०७)

७. प्रतिष्ठानका आर्थिक सल्लाहकारले आफ्नो राय पेश गरेको । (२०४७८/०८/०७)

८. उपकुलपतिले यस बोलपत्रको प्राविधिक पक्ष हेर्न अस्पताल निर्देशकको संयोजकत्वमा रहेको प्राबिधिक कमिटीलाई M/S M.B. Meditech Pvt. Ltd ले प्रस्ताव गरेको उपकरणहरु Technically Qualified हो वा होइन स्पस्ट ठोस राय माग्दै M/S M.B. Meditech Pvt. Ltd को अनुकुल राय दिन तिब्र दवाव दिएको ।(२०७८/०८/०८)

९. अस्पताल निर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिले यस प्रतिष्ठानका कानुनी सल्लाहकारको कानुनी राय र आर्थिक सल्लाहकारको राय प्राप्त भएपछि र उपकुलपतिले स्पष्ट राय माग गरे पछी “All the equipment/machine bid by M/S M.B. Meditech Pvt. Ltd. Meets the maximum required/asked technical specification which means it is technically qualified” भनि प्राविधिक राय उपलब्ध गरेको (ई. स. २४/११/२०२१ वा बि. स. २०७८/०८/०८).

१०. उपकुलपतिले सबै पक्षको राय आएपछि बोलपत्र स्वीकृत भएको जानकारी अस्पताल निर्देशकलाई गरेको । (२०७८/०८/०८)

११. अस्पताल निर्देशकले M/S M.B. Meditech Pvt. Ltd. लाई letter of intent to award the contract of supply, Delivery and Installation of ICU Setup and ventilator भनि पत्र जारी गरेको । (२०७८/०८/०८)

१२. Letter of intent जारी भएपछि मूल्यांकनमा समावेश गरिएका दुई थान बोलपत्र मध्ये सबैभन्दा न्यून कबोल गर्ने बोलपत्रदाता (M/S The Medical Solution) ले सार्बजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंमा यो बोलपत्रको छनौटको बिषयलाई लिएर निवेदन दिएको ।

१३. सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाडौंले उक्त निवेदनमा जाँचबुझ गरी बोलपत्रमा उल्लेखित आइटमहरु आंशिक रुपमा M/S The Medical Solution र M/S M.B. Meditech Pvt. Ltd लाई दिनु भनि निर्देशन गरेको ।

१४. सार्वजनिक खरिद अनुगमन कार्यालय, काठमाण्डौको निर्देशन अनुसार BPKIHS ले पुन: letter of intent जारी गरेको ।

१५. BPKIHS ले पुन: letter of intent जारि गरेपछि M/S M.B. Meditech Pvt. Ltd. कानुनी उपचारको लागि सर्वोच्च अदालत गएको र यो बोलपत्रको काम यथास्थितिमा राख्नु भनि अन्तरिम आदेश ल्याएको ।

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com