स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी कानुन पारित, एनएमएका अध्यक्ष कार्की भन्छन्, ‘ऐतिहासिक दिन’


काठमाडौंस्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भएसँगै नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष डा. लोचन कार्कीले आज चिकित्सा क्षेत्रका लागि ऐतिहासिक दिन भएको टिप्पणी गरेका छन् ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले प्रतिनिधि सभामा प्रस्तुत गरेको उक्त विधेयक पारित भएसँगै ऐनको रुपमा आएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसहितको पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएको थियो । स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने नयाँ व्यवस्थासहित अहिलेको सरकारले उक्त अध्यादेश ल्याएको हो । अब भने उक्त प्रावधानसहितको स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी कानुन आएको छ ।

प्रतिनिधिसभाबाट उक्त विधेयक पारित हुनु अगाडि नेपाल चिकित्सक संघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री खापुङलगायतलाई भेटेर छिटो सदनमा प्रस्तुत गर्न दबाब दिएको थियो । यो विषयमा संघका पदाधिकारी र स्वास्थ्य मन्त्रालयको टिमबीच विस्तृत छलफल भएको थियो । त्यसैको परिणामस्वरूप आज स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो ।

नेपाल चिकित्सक संघको चाहना बमोजिम स्वास्थ्य संस्थामा आगजनी गर्ने, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी पुर्‍याउने तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने’ मुद्दामा तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ भन्ने नयाँ प्रावधान राखिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीसहितका पदाधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ,  प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार आरपी विच्छा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय चिकित्सक शैल रुपाखेतीमाफित उक्त प्रावधान राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘कन्भिन्स’ गराएका थिए । त्यसैले संघका अध्यक्ष कार्कीले यो कानुन प्रतिनिधिसभाबाट पारित भएसँगै ऐतिहासिक दिनको रुपमा लिएका हुन् ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी (पहिलो संशोधन) कानुनमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्‍याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।  त्यस्तै स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उक्त कानुनमा व्यवस्था छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने आज पारित विधेयकमा उल्लेख छ । त्यस्तै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने र त्यस्तो  यस्तो कार्य गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com