डोकोदेखि डोलीसम्मको यात्रा हो फर्मास्युटिकल्स


बि.स २०३० असार ३० गते पर्वत ६ फलेवासमा जन्मेका हुन् अर्जुनकुमार श्रेष्ठ । बुबा कुलप्रसाद र आमा पवित्राको कोखबाट जन्मिएका अर्जुनले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान संकायमा स्नातक गरेका छन् । उनी गैरआवासीय नेपाली संघमा दुईपटक केन्द्रीय सदस्य, यूरोप संयोजक र संघको सचिव र उपाध्यक्ष भइसकेका छन् । श्रेष्ठले नेपाल र बेल्जियमलाई आफ्नो सेवा क्षेत्र बनाएका छन् । सेवासहित दर्जनौं व्यापारिक प्रतिष्ठानको नेतृत्व अर्जुनले गरेका छन् । हाल उनी नेपालमा ओम मेगाश्री फर्मास्युटिकल लिमिटेडको अध्यक्ष छन् । उनै श्रेष्ठसँग स्वास्थ्य लाइभले गरेको कुराकानीको अंश …

करिब १९ वर्षे प्रवासी जीवनपछि नेपालमा ठूलो लगानीमा औषधि कम्पनी स्थापना गर्ने कार्यमा हुनुहुन्छ । उपभोक्ताले तपाईंको कम्पनीबाट उत्पादित औषधि प्राप्त गर्न अब कति समय कुर्नु पर्ला ?

२०७३ सालदेखि निर्माण सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड नेपालको औषधि उद्योगमा फरक विशेषतासहित आउने तयारीमा छ । हामी अहिले औषधि उत्पादनको अन्तिम चरणको काममा छौं । नमूना औषधि उत्पादनको काम सुरु भइसकेको छ । केही वर्षअघि नै यसको नियमित उत्पादन सुरु हुर्नु पर्ने थियो । तर, कोरोना महामारीलगायत विविध कारणले उत्पादनमा ढिला हुन पुग्यो । आशा गरौं अबको दुईदेखि तीन महिनामा हाम्रो कम्पनीको औषधि नियमित उत्पादन हुनेछ ।

बेल्जियमको होटल व्यवसायिक जीवनलाई उच्च तरिकाले अगाडि बढाईरहुनु भएको व्यक्ति । फेरि २६ वर्ष पहिले सुरु गरेकै यो स्वास्थ्य क्षेत्रको व्यावसायमा संलग्न हुन त्यस्तो के कुराले तपाईंलाई आकर्षण गर्यो ?

स्वास्थ्य क्षेत्र र औषधि व्यवसायप्रति मेरो अलग्गै प्रेम छ । मेरो व्यवसायिक जीवन औषधिको क्षेत्रबाटै सुरु भएको हो । औषधि व्यवसायलाई म केवल व्यवसायको रुपमा मात्रै लिन्न । यहाँ सेवाभाव हुन पनि उत्तिकै जरुरी छ । एउटा औषधि व्यवसायीले नाफा घाटा सोचेर मात्रै व्यवसाय गर्यो भने सम्झिनुस् औषधिको गलत प्रयोगले दैनिक हजारौं मान्छेको मृत्यु हुन्छ । अर्कोतर्फ एउटा बिरामीले एक क्याम्सुल सही औषधि सही समयमा पायो भने उसले जीवनदान पाउन सक्छ । तसर्थ, यो व्यवसायमा रहँदा मलाई व्यवसायमात्र होइन पूण्य पनि कमाइरहेको महसुस हुन्छ ।

२०५३ सालमा युवाअवस्थामै औषधि व्यवसायबाट व्यवसायिक जीवन सुरु गरेको थिए । फेरि झण्डै अढाइ दशकपछि अझै फराकिलो ढंगबाट अगाडि बढ्न यस क्षेत्रमा प्रवेश गर्दैछु । यसबीचमा मैले होटल रेस्टुरेन्टसहित धेरै क्षेत्रमा काम गरेँ । तर, व्यवसायिक जीवनको उत्तरार्धमा मलाई फेरि औषधि व्यवसायमै काम गर्ने, नेतृत्व गर्ने र सेवा गर्ने अवसर मिलेको छ ।

नेपालमा बिहीबारसम्म ७६ वटा औषधि उद्योग दर्ता भई उत्पादन सुरु गरिसकेका छन् । दर्ता हुने क्रमममा रहेका समेत जोड्दा १ सय हाराहारीमा नेपालमा औषधि कम्पनीहरु पुग्ने देखिन्छ । यो भिडमा तपाईंहरु पनि आफ्नो उत्पादनसहित खुल्ला औषधि बजारमा आँउदै हुनुहुन्छ । अरुकोभन्दा सेवाग्राहीलाई आकर्षण गर्ने तपाईंको उत्पादन के छ त्यस्तो विशेष ?

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड नेपालको औषधि उत्पादनको क्षेत्रमा फराकिलो ढंगले आउँदैछ । हाम्रो संरचना व्यवस्थित मात्रै छैन प्रविधि बिल्कुलै नौलो र अन्तर्राष्ट्रियस्तरको छ । हाम्रा औषधिहरू यूरोपियन स्टान्डर्डमा उत्पादन हुन्छन् । ५६ वटा औषधि प्रयोगशालामा राखेका छौं । औषधि व्यवस्था विभागबाट ३१ वटाको उत्पादन अनुमति प्राप्त भएको छ । १४ वटा थप हुँदैछ । ४५ वटा औषधि हामीले सुरुमै उत्पादन गर्दछौं ।

९ वटा औषधि नेपालमा पहिलोपटक उत्पादन हुँदैछन् । त्योभन्दा पनि हाम्रो विशेषता यो छ कि नेपालमा पहिलोपटक हाम्रो औषधि उद्योग सर्वसाधारणको लगानीमा सञ्चालन हुँदैछ । अर्थात् पहिलोपटक औषधि कम्पनीले साधारण शेयर आम उपभोक्तालाई प्रदान गर्दैछ । अब आफूले सेवन गर्ने औषधिको नाफाको हिस्सेदार स्वयं उपभोक्ता हुँदैछन् ।

सबै कम्पनीले औषधि व्यवस्था विभागको नीति नियमले निर्देशन गरे अनुसार नै आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिएको हुन्छ होला नी ! एउटै ब्राण्डको पनि कम्पनी अनुसार गुणस्तर फरक-फरक हुन्छ ?

गुणस्तरमा हामी कुनै सम्झौता गर्दैनौं । ‘स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प’ हाम्रो नारा नै छ । हामीले नेपालमा प्रयोग गर्न मात्र होइन, औषधिको गुणस्तर अन्तर्राष्ट्रियस्तरको बनाउँदै निर्यात योग्य बनाउने लक्ष्य लिएका छौं । मेरो पूरापूर विश्वास छ ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका उत्पादनहरुले समयक्रममा विदेशी औषधि बजारमा बलियो उपस्थिति जनाउनेछन् ।

भनेपछि नेपाली औषधि कम्पनीहरुमा पहिलोपटक जनतालाई समेत शेयर खरिद बिक्री गर्न (आइपीओ) खुल्ला गर्दै हुनुहुन्छ ? यसको प्रक्रिया कस्तो छ ? साथै यसले खासमा कम्पनी र जनता दुबैलाई के फाइदा हुन सक्छ ?

हाम्रो औषधि कम्पनीले उत्पादन सुरु गरिसकेको छ । अब हामी बजारमा जाँदैछौं । त्यो भनेको अब बजारबाट धमाधम पैसा फिर्ता आउँछ । झण्डै ६ वर्षसम्म लगानीकर्ताले एकोहोरो लगानी गरेका छौं । अब त फिर्ता हुने समय हो । नाफा कमाउने समय हो । तर, हामीलाई औषधिको क्षेत्रमा नयाँ ट्रेन्ड स्थापित गर्ने रहर जाग्यो । अब आय लगानीकर्ताले मात्रै लिने होइन कि औषधिका उपभोक्ताले पनि लिन पाउन् । औषधि प्रयोगसँगै नाफाको हिस्सेदार हुन पाउन् भनेर हामीले साधारण शेयर बिक्री गर्ने निधो गरेका छौं । हामी आफैं पनि उपभोक्ताको अनुशासनमा बाँधिन सकौं भन्ने मुख्य ध्यय हो । प्रभू क्यापिटलले आईपीओ निष्काशनसम्बन्धी तयारीको काम सुरु गरेको छ ।

नेपालको औषधि बजार विदेशी ठूला कम्पनी र नेपालकै पुराना केही कम्पनीहरुको नियन्त्रणमा छ भन्ने कुरा नयाँ कम्पनीका व्यावसायीहरुबाट सुनिन्छ । यो विषयमा तपाईंको बुझाइ के छ ?

पक्कै पनि नयाँ कम्पनीले पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्छ । हामी त्यो चुनौती स्वीकार्दै आएका छौं । पुराना कम्पनीहरुको बजार वर्चश्वबारे हामी जानकार छौं । सँगै हामीलाई नेपालमा औषधि बजारको ५५ प्रतिशत बजार खुला छ भन्ने पनि थाहा छ । हामी त्यो ५५ प्रतिशतभन्दा बढी खाली रहेको बजारलाई पूर्ति गर्ने गरी आएका छौं । नयाँ पुरानाभन्दा पनि हामीले कत्तिको गुणस्तरीय औषधि सर्वसुलम मूल्यमा उपलब्ध गराउन सक्छौं हाम्रो परीक्षा त्यहाँ हुन्छ । हामी आत्तिएका छैनौं । विश्वस्त छौं । औषधि बजारमा हाम्रो उपस्थिति बलियो हुनेछ ।

मुनाफाको हिसाबले औषधि कम्पनीमा लगानीकर्ताहरुलाई पनि राम्रै हुन्छ भन्ने सुनिन्छ । तपाईंहरु फेरि यो मानवीय सेवा जस्तै हो भन्नु हुन्छ । कुरा बुझ्न अलिक मुस्किल भयो नि !

औषधि व्यवसाय सेवामूलक व्यवसाय हो । यो सेवा पनि हो । व्यवसाय पनि हो । व्यवसायमा लगानी मुनाफाका लागि हुनेमा दुईमत छैन । तर, औषधिमा मुनाफा कम, मानवीय सेवा बढी हुन्छ । औषधि र औषधिजन्य वस्तुका कारण हजारौंले नयाँ जीवन प्राप्त गरिरहेका हुन्छन् । मानवलाई नयाँ जीवन प्रदान गर्ने जीवनरक्षक औषधिको उत्पादनको क्षेत्रमा समर्पित हुन पाउनु सन्तुष्टिको विषय हो ।

अनि औषधिजन्य वस्तुमा सबैभन्दा बढी कमिसन लिने-दिने हुन्छ भन्ने सुनिन्छ । यसमा कतिको सत्यता छ ?

औषधि व्यवसायमा हरेक खालका व्यक्तिहरुको लगानी र उपस्थिति छ । हरेक व्यक्तिका फरक-फरक उद्देश्यहरु हुन सक्छन् । तर, व्यक्तिका कारण आम व्यवसाय नै लाञ्छित गर्नु उचित होइन । कमिसनको कुरा पटक-पटक बाहिर आउने गरेको छ । ती संस्थागत होइनन् । व्यक्ति र समूहमा निर्भर हुने कुरा हुन् । म आफू र हाम्रो कम्पनी भने कानूनले निर्दिष्ट गरेकाबाहेकका कुनै पनि कमिसनको चक्कर र छलकपटमा नपर्ने म आम उपभोक्तामा जानकारी गराउँछु । हामी आईपीओमा जाने तयारी गर्नुले नै हाम्रो पारदर्शितामा प्रश्न उठाउन नदिने गरी काम हुनेमा विश्वस्त छु ।

अन्त्यमा, नेपाली औषधि उद्योगहरूको उत्पादनलाई नेपालभित्र र अन्तराष्ट्रिय औषधि बजारमा स्थापित गर्नका लागि क-कस्ले कस्तो भूमिका खेल्नु पर्दछ ?

औषधि व्यवसाय एउटा संवेदनशील व्यवसाय हो । मानव स्वास्थ्यसँग सम्बन्धित औषधि व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्न आवश्यक छ । यस व्यवसायमा लगानी बढाउन आवश्यक छ । त्यसका लागि सरकारले सचेततापूर्वक सहयोग गर्न आवश्यक छ । गुणस्तरीयताको ग्यारेन्टी गर्दै औषधिमा आत्मनिर्भर हुन थप कदम र पहलकदमी लिन आवश्यक छ । अहिलेकै अवस्थाबाट हामी आत्मनिर्भर हुन सक्दैनौं । सँगसँगै व्यापारका नाममा व्यावसायिकता निभाउन नसक्ने उद्योगले पनि हाम्रो ध्येय पूरा गर्न सक्दैन । हामी निर्यातभन्दा अगाडि त आत्मनिर्भर हुनु पर्यो । आत्मनिर्भर भएपछि विदेशी बजारमा जान हामीले गर्नुपर्ने कामहरु धेरै छन् । तर, असम्भव चाहिँ छैन । यसमा हामी निरन्तर लागिरहेका छौं ।

क्याटेगोरी : अन्तर्वार्ता
ट्याग : ##http://ommegashreepharmaceuticals.com/, ##Om MegaShree Pharmaceuticals ltd, ##अर्जुनकुमार श्रेष्ठ, ##आइपीओ, ##औषधि कम्पनी, ##फर्मास्युटिकल्स

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com