क्यान्सर जितेकी सुजाताले ऋषिकेशलाई पराजित गर्लिन् ?


विराटनगर । प्रतिनिधिसभा मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसी नेतृ सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा रहेको छ ।

स्तन र पाठेघरको क्यान्सर जितेकी सुजाताले ऋषिकेशलाई पराजित गर्लिन् त भनेर धेरैले चाखपूर्वक अनुमान गर्ने गरेका छन् ।

५ वर्ष अगाडि एकसाथ स्तन र पाठेघरको क्यान्सरबाट पीडित सुजाताले त्यसलाई समेत सजिलै पराजित गरेकाले ऋषिकेशलाई पराजित गर्न सक्ने कुरामा कांग्रेस नेता तथा कार्यकर्ताहरु ढुक्क देखिए । सुजाताका पिता गिरिजा प्रसाद कोइरालाले पटक-पटक उक्त क्षेत्रबाट चुनाव जितेकाले पनि उनीहरू सुजाताले जित्नेमा ढुक्क देखिन्छन् । तर स्थानीय तहको चुनावी नजिता र उक्त क्षेत्रमा अघिल्लोपटक (२०७४) निर्वाचित डा. मिनेन्द्र रिजाल फ्याक्टरका कारण सुजाताले ऋषिकेशलाई पराजित त्यति सहज देखिँदैन ।

मोरङ क्षेत्र नम्बर २ मा रतुवामाई, कानेपोखरीको १, २, ३, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ तथा रंगेलीको १, ३, ८ र ९ नम्बर रहेका छन् ।

०७४ सालमा क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई नगरपालिकामा काँग्रेसबाट प्रमुखमा रविन राई बहुमत वडाध्यक्षसहित विजयी भएका थिए । यसपटक माओवादी केन्द्रको सहयोग पाउँदा पनि एमालेले उपप्रमुख सहित बहुमत वडाध्यक्ष जितेेको छ ।रंगेली नगरपालिकाको र कानेपोखरी गाउँपालिकामा पनि कांग्रेसले अघिल्लोपटकको साख जोगाउन सकेन देखिँदैन ।

सुनवर्षी नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको छ भने कानेपोखरीमा पनि एमालेले बलियो रहेको छ ।  अघिल्लोपटक कांग्रेसले जितेका रंगेलीको ५ वटा वडा योपटक एमालेले  खोसेको छ ।

वडाध्यक्षको मत हेर्दा मोरङ-२ मा कांग्रेसभन्दा एमाले बलियो देखिन्छ । यो क्षेत्रमा वडाध्यक्षहरुको मत हिसाब गर्दा एमालेको ३१ हजार ३४० मत आएको छ ।  काँग्रेसको २८ हजार ६१४ मत आएको छ भने माओवादी केन्द्रको ७ हजार २७१ रहेको छ । तर एमालेसँग मिलेको जसपाको मत पनि ४ हजार ३४६ रहेको छ । सत्ता गठबन्धन दलको मत झन्डै ३६ हजार रहेको छ भने एमाले-जसपा गठबन्धन मत पनि हाराहारीमा देखिन्छ ।

२०६४ सालको दोस्रो संविधानसभाको निर्वाचनमा विजयी बनेका ऋषिकेश २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजालसँग डेढ हजार मतले पराजित भएका थिए । स्थानीय तहको चुनावी परिणाम हेर्दा सुजाता-ऋषिकेशबीच कडा टक्कर देखिन्छ ।

हुन त उक्त क्षेत्रमा गिरिजाप्रसाद कोइरालाको प्रभाव रहेकाले मिनेन्द्रलाईभन्दा सुजतालाई बढी भोट आउने अनुमान गरिएको छ । तर, मिनेन्द्रलाई विश्वासमा नलिने हो भने उनी पक्षका कार्यकर्ता नै सुजातालाई हराउन प्रयाप्त हुने त्यो क्षेत्रका एक कांग्रेस नेताले स्वास्थ्य लाइभसँग बताए । ‘२०६४ को दोस्रो संविधानसभाको चुनावमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका आमोदप्रसाद उपाध्यायले सुजातालाई विश्वासमा नलिएकाले उनी पराजित भएर ऋषिकेशले जितेका थिए ।अहिले सुजाताले डा. मिनेन्द्रलाई विश्वासमा नलिने हो भने २०६४ कै हालत हुने देख्छु’, ती नेताले भने ।

यस्ता रणनीतिक कुरामा ध्यान नदिने हो भने दुई-दुई वटा क्यान्सर जितेकी सुजातालाई मोरङ-२ मा ऋषिकेशलाई पराजित गर्न सहज देखिन्न । जितका लागि अझै मेहनत गर्न पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एमालेका ऋषिकेश पोखरेल, #कांग्रेसी नेतृ सुजाता कोइराला, #मोरङ-२

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com