चिकित्सा शिक्षा सुधार संघर्ष समितिको माग पूरा नगरे कडा आन्दोलन छेड्ने चेतावनी


काठमाडौं । चिकित्सा शिक्षा सुधार संघर्ष समिति शिक्षा अध्ययन संस्थान (आइओएम) सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै निरन्तर आन्दोलनमा रहेको छ । एमबीबीएस र बीडीएस दोस्रो वर्षमा अध्यनरत विद्यार्थीसँग आइओएमले गत भदौ ३१ मा दुई बुँदे सहमति गरेको थियो । जसअन्तर्गत भर्ना हुँदा तिरेको एकमुष्ट रकम फिर्ताको लागि पहल गर्ने, बेरियर सम्बन्धमा पहिलो वर्ष छपटक दोस्रो वर्ष चारपटक रहेको व्यवस्थालाई पूनरावलोकन गरी क्रमशः आठ वर्ष र छ वर्ष बनाउने सहमति भएको थियो । यीनै सहमतिका बुँदा कार्यान्वयनका लागि आइओएमले आनाकानी गरेको भन्दै संघर्ष समिति निरन्तर आन्दोलनमा छ । समितिले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अझैपनि सहमति कार्यान्वयनमा आनाकानी भएमा आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको छ ।

संघर्ष समितिको माग पूरा गराउनको लागि विभिन्न विद्यार्थी संगठनले ऐक्यबद्धता पनि जनाएका छन् । पत्रकार सम्मेलनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) की डिन डा. दीव्या सिंह शाहले विद्यार्थीहरुको माग सुन्न नचाहेको आरोप लगाए । डीन शाहले बालकोटको आशिर्वादमा विद्यार्थीको समस्या समाधान गर्नुको सट्टा धम्क्याउने काम गरेको पराजुलीको आरोप छ । ‘जबरजस्त ढंगले विद्यार्थीको माग सुन्न नचाहने डिन जो मान्छे छन्, बेलाबेलामा आई लभ यु बा भनेर टिकिरहेकीछन् उनी । उनीबाट बालकोटको आशिर्वादमा विद्यार्थीको समस्यालाई समाधान नगरेर विद्यार्थीलाई धम्क्याउने जुन कर्म भएको छ, त्यसको हाम्रो विद्यार्थी संगठन घोर भत्र्सना गर्दछ,’उनले भने । विद्यार्थीको समस्या नसुन्नेहरु विश्वविद्यालयको प्रशासक भएर कुर्चीमा बस्न नसुहाउने उनको भनाई छ । डाक्टरलाई जनताले भगवान ठानेका र भगवानका उपमा पाएका मान्छेको समस्या समाधानमा सम्बन्धित निकाय जिम्मेवार नहुँदा भगवान भनेका मान्छे नै राक्षस बन्ने गरेको उनको टिप्पणी छ ।

‘डा. दीव्या सिंहले जुन ढंगले विद्यार्थीलाई पीडित बनाइरहेकी छन्, जुन ढंगले विद्यार्थीको समस्यालाई नजरअन्दाज गरिरहेकी छन् । त्यसका विरुद्धमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट हामी गतिलो झापड हान्न तयार छौं,’उनले भने ।

ठूला मान्छेको आडमा विद्यार्थीको समस्या सुन्न नचाहनेलाई आफूहरुले डीनको रुपमा हेर्न नचाहेको उनको भनाई छ । चिकित्सा शिक्षाका क्षेत्रमा रहेका समस्या समाधानका लागि उनले सरकारसमक्ष आग्रह गरे । चिकित्सा शिक्षा सुधारको आवाज उठाएर आन्दोलित भएका विद्यार्थीमाथि प्रहरीको दमन भएको भन्दै उनले त्यसमा पनि आपत्ति जनाए । ‘म विश्वविद्यालयका भिसी धर्मकान्त बाँस्कोटालाई पनि भन्न चाहन्छु, टुलुटुलु हेरेर बसेर किर्तीपुरको हावा खाएर तपाईं बस्न पाउनुहुन्न । त्यो चिसो हावामा अब तातो मिसिँदैछ । तपाईंले ख्याल गर्नुहोला,’उनले भने । विद्यार्थीको समस्या समाधान गर्न बाहिर बोलेको जस्तो सहज नभएको भन्दै उनले नवनियुक्त शिक्षामन्त्री शिशिर खनाललाई चिकित्सा शिक्षाको सुधारमा ध्यान दिन आग्रहसमेत गरे ।

सो कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष एवं रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले चिकित्सा शिक्षाको समस्या समाधान गर्नको लागि विद्यार्थी संगठनहरुको भूमिका प्रभावकारी नभएको भन्दै यसमा उनीहरुपनि चुकेको टिप्पणी गरे । ‘तपार्इंहरु किन संयुक्त रूपमा विद्यार्थी उतार्न सक्नुहुन्न? तपार्इंहरुले सहमति कार्यान्वयन गराउन जसरी पत्रकार सम्मेलन गरिरहनुभएको छ । यो पत्रकार सम्मेलन गरेरमात्र हुँदैन । एक्सनमा उत्रिनुहोस। डिन कार्यालयमा जानुस्। डिनले मानेनन् भने एउटा विकल्प खोज्नुस् न । विद्यार्थीको माग ठूलो होइन । हाम्रो राज्य संयन्त्रको सबैभन्दा ठूलो कमजोरी सम्झौता गर्ने अनि भएको सम्झौता कार्यान्वयन नगर्ने, सहमति गर्ने कार्यान्वयन नगर्ने परम्पराले तपाईहरु यहाँ आएर आक्रोश पोखिरहनुभएको छ,’ उनले भने ।

तत्कालीन् माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौतादेखि अहिलेसम्मका कुनैपनि सम्झौता पूर्णरुपमा कार्यान्वयन नभएको उनको दाबी छ । धमलाले चिकित्सा शिक्षा सुधारका लागि सहमतिपत्रमा सहस्ताक्षर गरेका सबै विद्यार्थी संगठनलाई संयुक्त रुपमा डिन कार्यालयमा गएर वार्ता गर्नको लागि आग्रह गरेका छन् । वार्ताको लागि सरोकारवाला निकाय समहति नभए आन्दोलनको घोषणा गर्न पनि उनको सुझाव छ । चिकित्सा शिक्षा सुधारको लागि आफूले सञ्चालन गर्दै आएको जनता जान्न चाहन्छन् कार्यक्रममा बहस गर्न तयार रहेको धमलाको भनाई छ । आफू चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीलाई साथ दिन तयार रहेको उनको भनाई छ । चिकित्सा शिक्षा सुधारका लागि डीनलाई भेटेर आग्रह गर्ने पनि उनले जनाए । डीन शाहलाई तत्काल विद्यार्थीको माग सम्बोधनका लागि पनि उनले आग्रह गरे ।

यस्तै, नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता गणेश भण्डारीले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधान नगरेर डीन शाहले विद्यार्थी राजनीति गर्ने संगठनको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेको आरोप लगाएका छन् । साथै, आइओएमले विद्यार्थीको रंगको आधारमा शुल्क निर्धारण गरेको उनको आरोप छ । ‘आइओएमले विद्यार्थीहरुको रंग छुट्याउने काम गरेको छ । विद्यार्थीहरुको रंग छुट्याउने भनेर आइओएमको कुनै पनि विधानमा लेखिएको छैन । अर्को कुरा के छ भने विद्यार्थीसँग ६० लाख, ७० लाख देखि ८० लाखसम्म लिईएको छ । कि त सम्बन्धित मेडिकल कलेजलाई उहाँले पत्राचार गरेर पैसा फिर्ता गर्नुपर्छ, नत्र भने विद्यार्थीले पुरै कोर्स पढ्न पाउनुपर्छ भन्ने हो,’उनले भने ।डीन शाहले एमालेका गुण्डा लगाएर चिकित्सा शिक्षा अध्ययनका आन्दोलनरत विद्यार्थीको आन्दोलन दवाउन खोजेको आरोप लगाए । चिकित्सा शिक्षा सुधार संघर्ष अभियानका प्रवक्ता धनबहादुर तमाङले आफूहरुले सरकारसँग ठूलो कुरा नमागेर सहज रुपमा पढ्न देउ भनेर मागेको बताए । विभिन्न विश्वविद्यालयबाट उत्पादित जनशक्ति र त्रिविबाट उत्पादित गुणस्तरमा ख्याल गर्दै सहज रूपमा अध्ययनको वातावरण मिलाउन पनि उनले सरकारसमक्ष माग गरे । चिकित्सा शिक्षा सुधारका सन्दर्भमा डिन कार्यालय र सरकारसँग विभिन्न समयमा भएका सहमति अक्षरश कार्यान्वयन हुन आवश्यक रहेको उनले आंैल्याएका छन् ।

 

त्रिविले गुणस्तरको कुरा जोडेर चिकित्सा शिक्षा अध्ययनमा विभिन्न विद्यार्थीलाई बन्देज गरेको उनको आरोप छ । साथै, चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनमा रहेको विद्यार्थीलाई प्रहरीले धरपकड गरेकोमा उनले आपत्ति जनाए ।

त्यसैगरी, नेविसंका स्ववियु चुनाव प्रचारप्रसार संयोजक डा. सन्तोष उपाध्यायले अहिले विद्यार्थीहरुले परीक्षा दिन पाउनुपर्छ भनेर राखेको माग तत्काल सम्बोधन हुन आवश्यक रहेको बताएका छन् । गुणस्तरको कुरा उठाएर चारवटा परीक्षामा पास भएमात्रै पढ्न पाउने नियम आफैं अव्यवहारिक रहेको उनको दाबी छ । अहिलेको डिनले विद्यार्थीको समस्या नबुझेको उनको अर्को आरोप छ ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विकले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानको अवैज्ञानिक नीतिका कारण दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु पढाईबाट बाहिरिनुपर्ने अवस्था आएको बताएका छन् ।

दिव्या सिंह शाह आइओएमकी डीनमा नियुक्त हुने सिस्टम नै आफैंमा गलत रहेको उनको आरोप छ । अहिले त्रिवि चिकित्सा शिक्षामा राखिएको व्यारियर सिस्टम अवैज्ञानिक रहेको उनको आरोप छ ।

‘अहिले विद्यार्थीहरुलाई पढ्न रोक्ने कुरा गलत छ । अहिलेको व्यारियरको सिस्टम राखिएको छ–यो अवैज्ञानिक छ । यो खासगरी विद्यार्थीलाई पेल्नका लागि राखिएको छ । विद्यार्थी पास हुन, अगाडि बढुनभन्दा पनि विद्यार्थीलाई कसरी निकाल्ने भन्ने नियतले राखिएको छ । यो सिस्टम परिवर्तन गर्न जरुरी छ,’उनले भने । चिकित्सा शिक्षा सुधार संघर्ष समितिको आन्दोलन सही रहेको उनको भनाई छ । डीन शाह एमाले अध्यक्ष केपी ओलीको पकेटबाट आएको उनको आरोप छ । आफूहरु सधैं आन्दोलनरत विद्यार्थीको पक्षमा रहेको पनि उनले सुनाए ।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका अध्यक्ष एटम विद्रोही डीन शाहले सहमति कार्यान्वयलाई बेवास्ता गरेर सहमतिलाई कुल्चिएको आरोप लगाए । विद्यार्थी संगठन एकजुट भएर आएको अवस्थामा डीन एक दिन पनि कुर्चीमा बस्न नसक्ने उनको ठोकुवा छ ।अहिलेको शिक्षामन्त्री शिशिर खनालले समेत आफूहरुको माग सुन्न नचाहेको उनको आरोप छ । विद्यार्थीको माग सम्बोधन गर्न नसक्ने भए डीन शाह र मन्त्री खनाललाई पदमा बसिरहन कुनै नैतिक अधिकार नभएको उनको दाबी छ ।विद्यार्थी संगठन अब संयुक्त रुपमा आन्दोलनमा जानुको विकल्प नरहेको उनको दाबी छ ।

कार्यक्रमका अर्का वक्ता अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सहमति कार्यान्वयन नहुनु आइओएम डिनको बदमासी भएको बताएका छन् । चिकित्सा शिक्षा अध्ययन संस्थाहरुको सबैको एउटै नीतिको आवश्यकत्ता रहेको उनको भनाइ छ । राज्यले मुलूकको कसरी विकास गर्न सकिन्छ र कसरी युवायुवतीलाई रोजगार दिन सकिन्छ भनेर सोच्नुको सट्टा आफ्नो भागबण्डामा रुमलिएको उनको आरोप छ । आफूहरुले पटक–पटक भीसीलाई विद्यार्थीको समस्या सुनाएपनि उनी समस्या समाधानको लागि तयार नभएको पनि गजुरेलको आरोप छ । आज शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा रहेको उनको आरोप छ । शिक्षा र स्वास्थ्यमा निजीकरण हुँदै माफियाहरु हाबी भएको उनको आरोप छ । आन्दोलनरत विद्यार्थीहरुको आन्दोलनमा साथ दिन आफूहरु तयार रहेको उनले प्रष्ट पारे ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले आन्दोलनरत विद्यार्थीहरुलाई आफ्नो संगठनबाट समर्थन रहेको बताए । डीन शाहले तानाशाही प्रवृत्ति लादेर महारानी बन्न खोजेको उनको आरोप छ ।

‘म दिव्या सिंहलाई अनुरोध गर्न चाहन्छु, तानाशाही राज्य व्यवस्था हटेको उहिल्यै हो । तपार्इँ महारानी बन्ने प्रयत्न नगर्नुहोस । ज्ञानेन्द्रको अस्तित्व आज नामेट छ । तपाईंको पनि अस्तित्व नामेट हुनसक्छ,’उनले भने ।

साथै, विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न उनले डीन शाहलाई आग्रह गरे । व्यारियर सिस्टम विद्यार्थीमा लाग्दै गर्दा पढाउने प्राध्यापकलाई पनि त्यो सिस्टम लागु हुनुपर्ने उनको माग छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com