स्वास्थ्य सेवा ठप्प भएपछि प्रधानमन्त्री र चिकित्सक बिच वार्ता जारी


काठमाडौं । आज आकस्मिकबाहेकका देशभरका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो देखाएका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई फोन गरेर उनले वार्तामा बोलाएका छन् । अहिले सिंहदरबारमा बार्ता जारी छ ।

वार्तामा नेपाल चिकित्सक संघले भीआईपी सवारीको मोडेल परिर्वतन गर्न र चिकित्सकमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न माग राख्ने भएको छ । प्रधानमन्त्रीले नै चासो देखाएपछि आफूहरु वार्तामा बस्न तयार रहेको डा. कार्कीले स्वास्थ्य लाइभलाई बताए । वार्ताबाट सकारात्मक परिणाम निकल्ने उनको विश्वास छ ।

वार्ताका लागि सबै पक्षका प्रतिनिधिहरू सिंहदरबार पुगिसकेका छन् । अब केहीबेरमा वार्ता सुरु हुन डा. कार्कीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालको निर्देशनमा सरकारी वार्ता टोली नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेश पाण्डेले गर्दैछन् । त्यसमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र गृह मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

यता चिकित्सक संघका तर्फबाट डा. लोचन कार्की, डा. बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा. प्रकाश बुढाथोकी र ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलगायत सहभागी हुनेछन् ।

संघले आफूहरुको माग सरकारले पूरा गर्ने अपेक्षा गरेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. गणेश पाण्डे, #डा. लोचन कार्की, #नेपाल चिकित्सक संघ (एनएमए)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com