बागमती प्रदेशको एनएमए मेडिकल म्युजियमले हौसिएका कोशीका मुख्यमन्त्री कार्की


काठमाडौं । नेपाल चिकित्सक संघले बागमती प्रदेश बनाउँदै गरेको एनएमए मेडिकल म्युजियमले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की हौसिएका छन् ।  उनले कोशी प्रदेशमा पनि मेडिकल म्युजियम बनाउन नेपाल चिकित्सक संघलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले अझ एक कदम अगाडि बढेर मेडिकल म्युजियम बनाउन कोशी प्रदेशमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । २९ औं ‘अखिल नेपाल चिकित्सा सम्मेलन,२०२३’को उद्‌घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. लोचन कार्कीले बागमती प्रदेश सरकारको सहयोगमा एनएमए मेडिकल म्युजियम बनाउने काम अगाडि बढेको सुनाएका थिए । उक्त कुरा सुनेपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पनि मेडिकल म्युजियम बनाउन आवश्यक जग्गालगायतका कुराको व्यवस्था गर्ने घोषणा गरे ।

 

मुख्यमन्त्री कार्कीको घोषणापछि नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की अझ हौसिए । २९ औं ‘अखिल नेपाल चिकित्सा सम्मेलन,२०२३’को ८ बुँदे घोषणापत्रमा उनले त्यो कुरा समेट्न लगाए । उक्त घोषणापत्रको बुँदा नम्बर ७ मा ‘नेपाल चिकित्सक संघ, कोशी शाखाले प्रदेशमा मेडिकल म्युजियम एवं रिसर्च सेन्टर र मेडिकल जर्नल प्रकाशनका लागि पहल गर्ने र यसका लागि मुख्यमन्त्रीज्यूको सहयोग प्रतिबद्धतालाई स्वागत गर्दछौं ।’, भन्ने उल्लेख छ । तर, मुख्यमन्त्रीले भने जस्तो कुनै संस्थालाई सरकारी जग्गा दिने अधिकार प्रदेश सरकारसँग हुँदैन ।

एनएमए मेडिकल म्युजियम बनाउने डा. लोचन कार्कीको अवधारणा हो । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा एनएमए मेडिकल म्युजियमको पूर्वाधार निर्माण हुँदैछ । बागमती प्रदेशका तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले एनएमए मेडिकल म्युजियमको पूर्वाधार तयार गर्न ५० लाख बजेट विनियोजन गरिदिएका छन् । डा. लोचनको एनएमए मेडिकल म्युजियम बनाउने अवधारणा सुनेपछि दिपेन्द्र पनि हौसिएर ५० लाख रुपैयाँ विनियोजन गरेका हुन् । एनएमए मेडिकल म्युजियम नेपालमै पहिलोपटक बन्न लागेको हो । उक्त म्युजियममा स्वास्थ्य र चिकित्सा क्षेत्रसँग जोडिएका पुराना पुराना दस्तावेज र उपकरण राख्ने योजना रहेको सुनाउँछन् ।

बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री दिपेन्द्रले डा. लोचनसँग मिलेर गरेको राम्रो कामबाट हौसिएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत पनि मेडिकल म्युजियमका लागि सहकार्य गर्न इच्छुक र उत्सुक भएका छन् । दिपेन्द्रको राम्रो कामको अनुसरण गर्दै कोशी प्रदेशले पनि मेडिकल म्युजियम बनाउने इच्छा प्रकट गरेको छ । यो आफैंमा राम्रो कार्य हो ।

 

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #एनएमए मेडिकल म्यूजियम, #कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, #डा. अनिल बिक्रम कार्की, #डा. लोचन कार्की, #दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com