टेरामक्स प्रकरण

स्वास्थ्यमन्त्री बस्नेतमाथि लाग्ला त भ्रष्टाचार मुद्दा ?


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको बहुचर्चित टेरामक्स प्रविधि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत छानबिनमा रहेको छ । तत्कालीन सञ्चारमन्त्री (वर्तमान स्वास्थ्यमन्त्री) मोहनबहादुर बस्नेतको पालामा अगाडि बढेको टेरामक्स प्रविधिमा व्यापक घोटाला भएको अख्तियारको प्रारम्भिक निष्कर्ष छ ।

अख्तियार स्रोतका अनुसार टेरामक्स खरिद प्रक्रिया हर ‘एंगल’बाट हेर्दा घोटाला देखिन्छ । टेरामक्स प्रविधि खरिद प्रक्रियाको सुरुवात, सम्झौतादेखि भुक्तानी प्रक्रियामा समेत कैफियत भेटिएको स्रोतको दाबी छ । ३ अर्ब बढीको उक्त प्रविधि खरिदमा डेढ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ ।

लेबनानी कम्पनी भेनराइज सोलुसन्ससँग खरिद सम्झौता भएको टेरामक्स प्रविधि लेबनान देखाएर साइप्रसमा कारोबार भएको अख्तियार स्रोतले बतायो । अख्तियारको विस्तृत छानबिन अन्तिम चरणमा पुगेको उक्त प्रविधिको सुरुवात कर्ता हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेकाले उनीमाथि भ्रष्टाचार मुद्दा चल्छ कि चल्दैन आम चासोको विषय बनेको छ । टेरामक्स प्रविधि खरिदको सुरुवातदेखि नै बदमासी देखिएकाले स्वास्थ्यमन्त्री बस्नेत पनि जिम्मेवार हुनुपर्ने अख्तियारका अधिकारीहरू औंल्याउँछन् ।

टेरामक्स प्रविधि खरिदमा तत्कालीन सञ्चारमन्त्री बस्नेत, सञ्चार सचिव महेन्द्रमान गुरुङ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्भर झाको मुख्य भूमिका रहेको अख्तियारका अधिकारीहरू सुनाउँछन् । खरिद प्रक्रिया टुंग्याउने क्रममा तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सचिव बैकुण्ठप्रसाद अर्याल, सहसचिव विनोदप्रकाश सिंह, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको प्रत्यक्ष संलग्नता भेटिएको अख्तियारका ती अधिकारीहरुको भनाइ छ । सूचना प्रविधि क्षेत्रको उक्त घोटालामा भ्रष्टाचार मुद्दा चल्दा स्वास्थ्यमन्त्री बस्नेतले उन्मुक्ति पाउने ठाउँ नदेखिएको अख्तियारभित्र चर्चा छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #ज्ञानेन्द्र बहादुर कार्की, #टेरामक्स प्रविधि, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com