श्रम सचिव भण्डारीले राजीनामा दिए, मुख्यसचिव अर्याल फुक्काफाल


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले राजीनामा दिएका छन् । ३ दिन पछाडि सचिवको ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका भण्डारीले राजीनामा दिएका हुन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रम सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका भण्डारीले राजीनामा दिँदा बहालवाला मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल भने फुक्काफाल देखिन्छन् । उनको विषयमा आज मन्त्रिपरिषद्को बैठकमा समेत कुरा उठेको स्रोतको दाबी छ । बहुचर्चित टेरामक्स प्रविधि घोटालामा मुछिएका मुख्यसचिव अर्यालले नैतिकताका आधारमा राजीनामा दिएको भए स्वभाविक रुपमा भण्डारी मुख्यसचिवको मुख्य दाबेदार हुने थिए । तर उनले नैतिकता नदेखाउँदा भण्डारीले पेन्सन बढाउन ३ दिन अगाडि राजीनामा दिएर हिँड्नु परेको छ ।

हुलाक सेवाबाट प्रशासनमा एकैदिन छिरेका मुख्यसचिव अर्याल र श्रम सचिव भण्डारी अर्थ मन्त्रालयमा सँगै काम गरेका हुन् । अर्याललाई हटाएर मुख्यसचिव बनाउने खेलमा लागेका भण्डारी राजीनामा दिएर हिँडेका छन् । मन्त्री शरदसिंह भण्डारीसँग मिलेर श्रममा विवादित निर्णय गरेका सचिव केवल डोलप्रसाद अर्यालले भटाभट उल्ट्याउन थालेपछि नैतिक संकटमा परेको चर्चा थियो । उनी अहिले आफैं बाटो छाडेर टाप ठोकेका छन् । मुख्यसचिव अर्यालले नै उनको राजीनामाको साक्षी बन्नु परेको छ ।

बिहीबार कै मन्त्रिपरिषद्को बैठकले चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । उनी कर्णाली प्रदेशको कायममुकायम प्रमुख सचिवको रूपमा कार्यरत छन् । पौडेललाई सचिवमा बढुवा गरिएको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा अरनिको पाण्डे, संगीता सिंह, कुशेन्द्र बहादुर महत र  शिवराज अधिकारी नियुक्त गर्ने निर्णय गरेको छ ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com