बिरामी नारायणकाजीप्रति बाबुरामको टिप्पणी,“नपाउनेले केरा पायो बोक्रै समेत खायो” ?


काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ९ दिने भ्रमणका लागि आइतबार चीन जाने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री भएपछि चीन भ्रमणमा रहेका नारायणकाजीमाथि विभिन्न टिकाटिप्पणी हुन थालेको छ । खासगरी उनकै पूर्व सहकर्मीहरु नारायणकाजीप्रति कठोर देखिन्छन् ।

मुटुमा समस्या भएका  र चीनमा उपचार गराउँदै आएका परराष्ट्रमन्त्री ९ दिन चीनमा बस्ने छ । गृहमन्त्री हुँदा चीन भ्रमणमा रहेका बेला हृदयघात भएर नारायणकाजी अस्पताल समेत भर्ना भएका थिए । उनको चीनमा स्वास्थ्य उपचारको फलोअप गर्ने समेत बताइएको छ ।

देशको परराष्ट्रमन्त्री जस्तो मान्छे नौ-नौ दिन विदेश भ्रमणमा जानुलाई धेरैले निको मानेका छैनन् । गृहमा हुँदा विवादित सारथिलाई बोकेर सुशासनको रथ चढिरहेका नारायणकाजी परराष्ट्रमा पुग्दा खासै चर्चामा आएका थिएनन् । ९ दिने चिन भ्रमणले उनी एकाएक चर्चामा आएका छन् । नारायणकाजी कै सहकर्मी पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले उनको ९ दिने चीन भ्रमणलाई लिएर “नपाउनेले केरा पायो बोक्रै समेत खायो” ? भन्ने टिप्पणीसहितको प्रश्न गरेका छन् । एमाले नेता विष्णु रिजालको ट्वीटमाथि बाबुरामले नारायणकाजीलाई नपाउनेले केरा पाएर बोक्रै समेत खाएको टिप्पणी गरेका छन् ।

एमाले नेता रिजालले समेत ‘कति लामो भ्रमण हो ? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ ? २०२३ मा प्रधानमन्त्री प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो । दुनियाँले के भन्छ होला ? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’, भनेर लेखेका छन् ।

नारायणकाजी लामो समयसम्म चीन भ्रमणमा रहने भएपछि विभिन्न कोणबाट टिप्पणी र आलोचना हुन थालेको छ । सुन तस्करीको छानबिनमा सीआईबीमाथि हस्तक्षेप गरेर आफ्नालाई जोगाएको आरोप खेपिरहेका नारायणकाजी चीन भ्रमणमा पनि आफ्नैको आलोचनाको तारो बनेका छन् । त्यसो त गृहमन्त्रीबाट लगत्तै परराष्ट्रमन्त्री बनेका नारायणकाजीमाथि माओवादी केन्द्रका सांसद माधव सापकोटा जाइलागेका थिए ।

‘कम्मल ओढेर घिउ खाने’ स्वभावको भनेर नारायणकाजीको चर्चा हुने गरेको छ । पछिल्लो समयमा त उनीमााथि “नपाउनेले केरा पायो बोक्रै समेत खायो” भन्ने आक्षेप लागको छ । सुन काण्डले रन्थनिएका नारायणकाजी चीन काण्डले तारो बनेेको देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com