लाइसेन्समा भ्रष्टाचार मुद्दा लागेर यातायातमै फर्किएका भट्ट र कार्की


काठमाडौं । जुन कार्यालयमा हुँदा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुन्छ सफाइपछि त्यहिँ कार्यालयमा कुनै कर्मचारी किन फर्किन्छन् ? उत्तर ‘सिम्पल’ छ त्यहिँ धन्दालाई निरन्तरता दिन । यस्तै भएको पाइएको छ यातायात व्यवस्था विभाग, मिनभवनमा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका कम्प्युटर इन्जिनियर हरिश भट्ट र शाखा अधिकृत भविन्द्र कार्की सफाइपछि यातायतमै फर्किएको पाइएको छ । यातायात व्यवस्था विभाग, सवारीचालक अनुमतिपत्र कार्यालय, बागमतीमा घूस/रिसवत लिएर सेटिङमा लाइसेन्स दिएको पुष्टि भएपछि अख्तियारले २०७१ भदौमा कम्प्युटर इन्जिनियर भट्टविरुद्ध मुद्दा दायर गरेको देखिन्छ । सेटिङ मिलाउन खप्पिस हरिश विशेष अदालतबाट सफाइ पाएर फेरि यातायात व्यवस्था विभागमै फर्किएको खुल्न आएको छ । ६ लाख ४५ हजार रुपैयाँ बिगो दाबीसहितको भ्रष्टाचार मुद्दा जितेपछि उनी यातायातको लाइसेन्स प्रिन्टमा राज गरिरहेका छन् ।

रोचक कुरा त के छ भने हरिश भट्ट करारका इन्जिनियर हुन् । भ्रष्टाचार मुद्दा लागेपछि उनको करार अवधि सकिएको थियो । तर, भ्रष्टाचारमा डामिएका हरिश फेरि यातायात व्यवस्था विभाग हुँदै साबिक कै ठाउँमा राखियो ।

एमाले नेता एवं पूर्व सांसद दिपकप्रकाश भट्टका भाइ हरिश दिपकका प्रतिस्पर्धी कांग्रेस नेता सांसद एवं पूर्व यातायातमन्त्री रमेश लेखकका समेत विश्वास पात्र हुन् । एमाले सत्तामा आए दाइ दिपक र कांग्रेस सत्तामा आए लेखकलाई प्रयोग गर्दै आएका उनी यातायातमा सेटिङ गर्न माहिर खेलाडी मानिन्छन् ।

दिपक र हरिश

करारमा कार्यरत हरिशले लाइसेन्स प्रिन्ट गर्दा आर्थिक लाभ लिने गरेको गुनासो आउन थालेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले करार अवधि थप गर्न अस्वीकार गरेका छन् । तर, हरिशको करार अवधि र दरबन्दी थप गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाटै चलखेल सुरु भएको पाइन्छ । यातायतमै बसेर राम्रै प्रगति गरेका उनलाई यातायातमै राख्न अहिले चौतर्फी दबाव परेको बुझिन्छ ।

अख्तियारदेखि अदालतसम्म सेटिङ गर्न खप्पिस हरिश जसरी पनि यातायातमा टिक्ने प्रयासमा छन् । एमालेका नेता रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएपछि उनले मन्त्रालयमा थप सक्रियता बढाएको चर्चा छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्स जारी गरेको विषयमा अनुसन्धान सुरु गरेपछि हरिशले सक्रियाता बढाएको पाइन्छ । उनी सीआईबी र अख्तियार धाइरहेको खुल्न आएको हो ।

‘सेटिङ मास्टर’ करारका कम्प्युटर इन्जिनियर हरिश यातायातमा राज गर्ने मध्यमा पर्छन् । यातायात क्षेत्र सुधार गर्नेका लागि उनी बाधक बन्दै आएको चर्चा छ । मुद्दा परे अख्तियार र अदालतमा कसरी बयान दिने र अरुलाई पोल्ने भनेर हरिशले सहकर्मीहरूलाई ‘कोचिङ’ समेत दिन थालेको आरोप लाग्न थालेको छ । हरिशको शक्तिकासामु यातायात व्यवस्था विभागका महानिर्देशक समेत निरीह बन्ने गरेको चर्चा सुनिन्छ ।

हरिश मात्र होइन शाखा अधिकृत भविन्द्र कार्की पनि मुद्दा जितेर यातायातममै फर्किनेमा पर्छन् ।  ट्रायलमा फेल र अनुपस्थित भएका लाइसेन्स दिने सिफारिस दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, एकान्तकुनामै कार्यरत कार्कीलाई पनि २०७६ मंसिरमा अख्तियारले विशेष अदालतमामा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीमाथि सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजस्व रकम समेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्तिको हिनामिना, हानिनोक्सानी गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको देखिन्छ ।

३ हजार ५० रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा परेको मुद्दामा कार्कीको समूहले शंकास्पद बिल पेश गरेर सफाइ पाएको अख्तियार स्रोतको दाबी छ । उक्त कुरा थाहा पाएपछि उनलाई यातायातबाट सरुवा गर्न महानिर्देशक रिजाल सक्रिय थिए । तर, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले नमान्दा कार्की सरुवा हुन सकेको थिएन । शर्माको मन्त्रालयबाट सरुवा भएसँगै कार्कीको पनि कृषितिर सरुवा भएको छ ।

भट्ट र कार्की मात्र होइन अख्तियारबाट भ्रष्टाचार मुद्दा लागेर सफाइ पाएपछि फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा फर्किनेमा  शैलश ढकाल पर्छन् । उनी फेरि नक्कली भिसा प्रकरणमा जिल्ला अदालतमा मुद्दा धाइरहेका छन् ।  ढकालसँगै अख्तियार बसेका विमल पौडेल पनि  उक्त मुद्दामा प्रतिवादी छन् । सफाइ पाएर फेरि त्यहिँ अड्डामा फर्कनेले बदमासी गर्छन् भन्ने ढकाल उदाहरण हुन् ।  भट्ट र कार्की पनि ढकालभन्दा कम नरहेको चर्चा सुनिन्छ । अख्तियारबाट गएका र विशेषबाट सफाइ पाएकालाई अख्तियारले थप निगरानी गर्न जरुरी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #भविन्द्र कार्की शाखा अधिकृत, #हरिश भट्ट कम्प्युटर इन्जिनियर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com