‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न


काठमाडौं । ‘डेंगी नियन्त्रणको प्रभावकारितालाई अगाडि बढाउने’सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न भएको छ । विभिन्न देशका विज्ञहरु सम्मिलित उक्त गोष्ठी (कार्यशाला) मंगलबार सम्पन्न भएको हो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नेपालस्थित अमेरिकी राजदूतावास, संयुक्त राज्य अमेरिकाको कृषि विभाग अन्तर्गत कृषि अनुसन्धान सेवा र सेन्टर फर मलिकुलर डाइनामिक्स नेपालको संयुक्त आयोजनामा उक्त गोष्ठी भएको हो । सोमबार र मंगलबार भएको दुई दिने गोष्ठीमा विभिन्न देशबाट विज्ञहरु राजधानीको मल्ल होटलमा भेला भएर आफ्नो विज्ञता र अनुभव प्रस्तुत गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गोकर्ण दाहाललगायतले डेंगी नियन्त्रणलाई प्रभावकारी बनाउन चाल्नु पर्ने कदम र विगतका अनुभवहरु सुनाएका हुन् ।

स्वास्थ्य सचिव डा. पोखरेलले स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रणका लागि सरकारले गरिरहेको कामहरूको फेहरिस्त प्रस्तुत गरेका थिए । उनले डेंगी नियन्त्रणका लागि सरकारले चालेको कदम र त्यसको प्रभावकारिताको विषयमा चर्चा गरेका हुन् । सचिव डा. पोखरेलले डेंगी नियन्त्रणका लागि सरकारले खेलेको भूमिका र भावी कार्ययोजना समेत सुनाए । नेपाल सरकार डेंगी नियन्त्रणका लागि निरन्तर सक्रिय रहँदै आएको उनको भनाइ छ ।

कार्यशाला उद्‌घाटनका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले डेंगी नियन्त्रणका लागि स्थानीय सरकारले खेलेको भूमिकाको चर्चा गरे । काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष समेत रहेका महर्जनले कोभिड र डेंगी नियन्त्रणमा स्थानीय सरकारले भोग्नु परेको समस्या समेत सुनाए । उपत्यकाका स्थानीय तहले डेंगी नियन्त्रणका लागि चालेको कदम र आगामी दिनमा गर्नु पर्ने कामको समेत उनले चर्चा गरेका हुन् ।

डेंगी नियन्त्रणका लागि गरिएका कामहरु र त्यसलाई प्रभावकारी बनाउन गर्नु पर्ने कामको विषयमा स्वास्थ्यका प्रस्तुती दिएका थिए । गोष्ठीमा भाग लिन बंगलादेशबाट आएका डा. राजीव चौधरी र सेनाका सहायक रथी इम्रुअल क्वेस चौधरीले डेंगी नियन्त्रणमा बंगलादेशले चालेको कदमको चर्चा गरे।

अमेरिकी कृषि विभागका प्रतिनिधि डा. लि कोहन्सटेडले डेंगी नियन्त्रणको विषयमा धारणा राखे। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. युवानिधि बसौला, सुनिलराज शर्मा लगायतले डेंगी नियन्त्रणका विषयमा प्रस्तुती दिए । प्रा. डा. कृष्णदास मानन्धर, डा. रेश्मा तुलाधर, अजितकुमार  कर्ण, दिवेश गोस, डा. मेघनाथ धिमाल, डा. दिवेश कर्मचार्य, डा. शशी कँडेल, डा. समिरमणि दिक्षितलगायतका विज्ञहरुले डेंगी नियन्त्रणका विषयमा धारणा राखेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com