आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्याउँछः मन्त्री चौधरी


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित कुनै पनि व्यक्तिले हानी नोक्सानी नगर्ने उल्लेख गरेकी हुन् ।

‘यदी आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उहाँले गर्ने काम कारबाहीहरू र उहाँले लिने कामको रणनीतिहरू अलिकति समाजलाई सकारात्मक दृष्टिकोणले उत्थान, विकास गर्ने गरी अगाडि बढ्छ,’ मन्त्री चौधरीले भनिन्, ‘हामी आफैबिचमा पनि अन्तरद्वन्द्व छ । व्यक्ति–व्यक्तिबीचको, समुदायबीचको अन्तरद्वन्द्व छ । त्यसकारण मान्छेले नै व्यवहारिक प्रयोग तथा आविष्कारका लागि उत्पादन गरेका छौँ । मान्छेले नै पत्ता लगाएका, आविष्कार गरेका चिजलाई चलाउन नजान्दा, नकारात्मक कुरामा प्रयोग गर्दा संसार खराब अवस्थामा पुगेको छ ।’

एकले अर्कालाई कसरी पछाडि पारेर आफू अगाडि जाने भन्ने गलत प्रतिस्पर्धाका कारण समाज केही रूपमा गलत दिशातर्फ गएको हो कि भन्ने लागे पनि ती गलत मान्यता र अभ्यासलाई यस्ता कार्यक्रमका माध्यमबाट चिर्न सकिने मन्त्री चौधरीको भनाइ थियो । उनले भनिन्, ‘अहिलेको समाजलाई पनि दृष्टिगत गरेर हेर्दा एकले अर्कालाई पछाडि पारेर कसरी अगाडि बढ्ने भन्ने प्रतिस्पर्धाको कारण समाजमा दुराभाव र दूषित विचार छन् ।’

मन्त्री चौधरीले समाजमा रहने हरेक व्यक्तिको विचारमा थोरै भए पनि आध्यात्मिक चेतना आउनैपर्ने बताईन् । ‘राजनीतिक क्षेत्र, व्यावसायिक क्षेत्र तथा अन्य औद्योगिक क्षेत्रमा, अथवा कृषि तथा जुनसुकै क्षेत्रमा पनि समाजमा रहने हरेक व्यक्तिको विचारमा अलिकति आध्यात्मिक चेतना आउनै पर्छ,’ उनले भनिन्, ‘आध्यात्मिक कुराबारे जानकार व्यक्ति, आध्यात्मिक ज्ञान लिएको व्यक्तिले आफ्नो समाजलाई नकारात्मक दिशातर्फ दोहोर्याउँदैन । उसले आफ्नै साथी सर्कल, आफन्त, समाज कसैलाई पनि घात गर्दैन ।’

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com