स्वास्थ्यमन्त्री यादवको पार्टी औपचारिक रूपमा विभाजन, दल दर्ता गर्ने निर्णय


काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा), नेपाल औपचारिक रूपमा विभाजन भएको छ । निर्वाचन आयोगले नयाँ दल  जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेसँगै उनको दल औपचारिक रूपमा विभाजित भएको हो ।

जसपा, नेपालका अध्यक्ष समेत रहेका स्वास्थ्यमन्त्री यादव नेपाल नआइ पुग्दै उनको दल फुटेर नयाँ दल बनेको हो । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने निर्णय भएको छ । निर्वाचन आयोगले नयाँ दललाई मान्यता दिएसँगै उपेन्द्रको पार्टी दुई टुक्रा भएको छ ।

जनता समाजवादी पार्टीको अध्यक्षमा अशोककुमार राई, सहअध्यक्षमा रणु यादव, उपाध्यक्षमा नवलकिशोर शाह, सुशिला श्रेष्ठ, रणध्वज लिम्बू, पर्शुराम बस्नेत रहेका छन् । महासचिवमा मोहम्मद इस्तियाक राई, सचिवमा रञ्जु ठाकुर र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद यादव रहेका छन् । संघीय परिषद अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् ।

जसपा नेपालका १२ जना सांसदमध्ये ७ जना जनता समाजवादी पार्टीतिर लागेका छन् । अशोक राईसहित सांसदहरु डा. वीरेन्द्रकुमार महतो, प्रदीप यादव, हसिना खान, नवलकिशोर शाह सुडी, रञ्जु ठाकुर र सुशीला श्रेष्ठ । दीपक कार्कीले भने निर्णय लिइसकेका छैनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com