… अनि फुट्यो स्वास्थ्यमन्त्री यादव नेतृत्वको पार्टी जसपा, नेपाल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिका भएकाबेला नेपालमा उनी नेतृत्वको जनता समाजवादी (जसपा),पार्टी नेपाल फुट्यो । जनसंख्यासम्बन्धी सम्मेलन भाग लिनका लागि भनेर मन्त्रिपरिषद्को बैठकबाट लामो भ्रमण स्वीकृत गराएर स्वास्थ्यमन्त्री यादवलाई अमेरिका पठाइयो । गौर हत्या काण्डमा मुछिएका उनलाई अमेरिकाले भिसा दिन आनाकानी गरेको थियो । तर, परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा स्वास्थ्यमन्त्री यादवलाई भिसा लगाएर अमेरिका पठाइयो । यो मौकामा पार्टी फुटाउन सक्रिय भएकाहरुले गोल हाने ।

विदेश जान भनेपछि मरिहत्ते गर्ने यादवको स्वभाव तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा नहुने कुरै भएन । उनीसँगै सहरी विकासमन्त्री भएर काम गरेका इस्तियाक राईमार्फत ओलीले जनता समाजवादी पार्टी (जसपा), नेपाल  फुटाउने गृहकार्य गरे । एमाले फर्किने उपयुक्त मौका कुरिरहेका अशोककुमार राई र राजेन्द्र श्रेष्ठका लागि पनि यो राम्रो अवसर थियो । धरानबाट एमालेको समर्थनमा चुनाव जितेर शिक्षामन्त्रीको स्वाद चाखिसकेका अशोक र एमालेबिना काठमाडौं ७ बाट चुनाव जितिने रहेनछ भन्ने निष्कर्षमा पुगेका राजेन्द्रले पनि जसपा, नेपाल फुटाउने ओलीको प्रस्तावलाई सहजै अनुमोदन गरिदिए ।

मन्त्री खान नपाएर छट्पटिएका प्रदीप यादव इस्तियाकको कोर टिममा बसेर पार्टी फुटाउने गृहकार्यमा सहभागी भए । नक्कली छोरी काण्डमा मुछिएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि इस्तियाक र प्रदीपसँगै काठमाडौंमा सक्रिय हुन थाले । धरहरा बनाउने ठेक्का पाएको रमन कन्ट्रक्सनको भवन जनकपुरमा हुने जसपा नेपालको महाधिवेशनमा उपेन्द्रलाई इस्तियाकले टक्कर दिने हल्ला चलाइयो । एमालेबाटै आएकी रान्जु ठाकुर उपेन्द्रले दिन्छु भनेको केहिपनि नपाएपछि उपेन्द्रसँग वाक्कदिक्क भइसकेकी थिइन् । त्यो कुरा इस्तियाक, प्रदीपहरुलाई राम्रैसँग थाहा थियो । मुस्लिम सांसद हसिना खान उनीहरुसँग निकट हुने भइहालिन्।

अशोक राई अध्यक्ष हुने र नवलकिशोर साह सुडीको वनमन्त्री सुरक्षित हुने भएपछि उनी पनि उपेन्द्रको साथ छाड्न राजी भए । डा. वीरेन्द्रप्रसाद महतोलाई ज्वाइँ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठमार्फत नयाँ पार्टीमा जान ‘कन्भिन्स’ गराइयो । रेणु यादवको पनि पछिल्लो समय उपेन्द्रसँग राम्रो सम्बन्ध थिएन । उनी पनि उत्तै लागिन् ।

जसपा, नेपाल फुटाउन इस्तियाक, प्रदीपहरुहरू म्यारियट होटलदेखि बालकोटसम्म पुगेर तयारी थाले । कतिसम्म भने पार्टी फुटाउने अघिल्लो रात १ बजेसम्म इस्तियाक, प्रदीपहरु बालकोटमै थिए । एक हप्तादेखिनै उनीहरु ओली निवास बालकोटमा डेरा जमाएर बसेको चर्चा छ । ओलीले पहिला पनि जसपा फुटाएर सत्ता लम्ब्याउने प्रयत्न गरेका थिए । तर त्यो विषय निकै विवादित बन्न पुग्यो । दोस्रो प्रयत्न पनि त्यसरी नै ‘फेल’ नहोस् भनेर उनी निकै सजग थिए । जसपा नेपाल फुटाएर जसपा नाम राख्न ओलीले नै सुझाव दिएको बुझिन्छ ।

जसपा, नेपाल फुटाएर नयाँ पार्टी दर्ता गराउन वन र भौतिक मन्त्रालयमा तयारी थालियो । स्रोतका अनुसार ओलीको निर्देशनमा उक्त चाँजोपाँचो रघुवीरले मिलाएका थिए । भौतिकमा सेटिङ मिलाएर गाडीमा चढेर उनीहरु निर्वाचन आयोग पुगे । उनी पार्टी दर्ता गराउन निवेदन हाले  । पार्टी फुटाउन तयार भएका दीपक कार्की भने निर्वाचन आयोग नपुगीबीचैमा अलप भए । निर्वाचन आयोगमा पुगेपछि मात्रै जसपा, नेपालका सांसद र नेताहरु पार्टी फुटाएर नयाँ पार्टी खोल्न लागेको सूचना चुहाइयो । निर्वाचन आयोगले पनि अशोक राई नेतृत्वको नयाँ दल जसपालाई मान्यता दिइसकेको छ । यसरी एउटा ‘प्लान’ सफल भएर अहिले  स्वास्थ्यमन्त्री उपेन्द्र यादव ‘घरको न घाटको’ बनेका छन् । प्रदीप स्वास्थ्यमन्त्री खान मुख मिठ्याएर बसेका छन् । स्वास्थ्यमन्त्री उपेन्द्रलाई बर्खास्त हान्न ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगातार दबाब दिइरहेका छन् । १/२ दिनभित्रै मुलुकले नयाँ स्वास्थ्यमन्त्री पाउने सम्भावना बढेर गएको छ । उपेन्द्रलाई ओलीले पहिला पनि विदेश गएको बेला स्वास्थ्यमन्त्रीबाट हटाइदिएका थिए ।

नयाँ पार्टीमा पनि इस्तियाक महासचिव र प्रदीप उपमहासचिवको भूमिकामा रहेका छन् । मंगलबार एमाले अध्यक्ष ओलीले उपेन्द्रको पार्टी फुटाएर बनेको कान्छो पार्टीका सांसदहरुसँग सिंहदरबारमा खुसियाली मनाएका छन् । यसले पनि पुष्टि हुन्छ उपेन्द्रको पार्टी फुटाउने योजनाकार ओली नै हुन भनेर । अब उपेन्द्रले के गर्छन् हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com