माधव नेपालकी छोरी डा. सुमन मेडिकल काउन्सिलको सदस्य नियुक्त, ज्वाइँ कैलाश अस्ट्रेलियाको राजदूत कायमै


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपाल नेपाल मेडिकल काउन्सिलको   सदस्य नियुक्ति भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. सुमनसहित ६ जनालाई मेडिकल काउन्सिलको सदस्यमा नियुक्त गरेको छ ।

लामो समयको प्रयासपछि माधव नेपालले छोरी डा. सुमनलाई नेपाल मेडिकल काउन्सिलको सदस्य बनाउन सफल भएका छन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको पालादेखि उनले छोरीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य बनाउने प्रयास प्रदीप यादव आएपछि सफल भएको छ । बस्नेतपछि उपेन्द्र यादव हुँदै प्रदीप यादव स्वास्थ्यमन्त्री बने । छालारोग विशेषज्ञ माधवकी छोरी डा. सुमन पनि नेपाल मेडिकल काउन्सिलको सदस्य नियुक्त भइन् ।

माधव नेपालले भारतीय दूतावासलाई खुशी पारेर सांस्कृतिक छात्रवृत्ति (कल्चरल सिट)मा छोरी सुमनलाई डाक्टर पढाएका हुन् । सुमनले कल्चरल सिटमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट एमबीबीएस र एमडी गरेकी हुन् । उनका छोराले पनि भारतीय दूतावास कै कल्चरल सिटमा आन्ध्र प्रदेशबाट इन्जिनियरिङ गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको सदस्यमा माधव नेपालकी छोरी डा. सुमनसहित चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)की डीन प्राडा दिव्यासिंह शाह, डा. कुम्भराज जोशी, प्राडा रविन्द्रमान श्रेष्ठ, डा. मधु न्यौपाने र डा. वीरेन्द्रबहादुर प्रधान नियुक्त भएका छन् । दिव्या डीन छहुञ्जेल मात्र नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा रहने छिन् ।

बिहीबार नै बसेको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायतसहित ११ देशको राजदूत फिर्ता बोलाएको छ । तर, सँगै नियुक्त भएका अस्ट्रेलियाका राजदूत माधव नेपालका बहिनीज्वाइँ कैलाश पोखरेललाई भने सरकारले चलाएको छैन । माधव नेपालले एकातिर छोरीलाई नेपाल मेडिकल काउन्सिलको सदस्य बनाउन सफल भएका छन् भने अर्कातिर बहिनीज्वाइँलाई अस्ट्रेलियाको राजदूतमै कायम राख्न सफल भएका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #कैलाश पोखरेल, #डा. सुमन नेपाल, #नेपाल मेडिकल काउन्सिल, #माधव कुमार नेपाल, #राजदूत कैलाश पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ