यी हुन् चालिस नकटेका प्रशासन सेवाका सहसचिवहरू


काठमाडौं। नेपाल प्रशासन सेवामा डेढ दर्जन सहसचिव ४० वर्ष र त्योभन्दा मुनिका रहेका छन्। उमेर ४० वर्ष नकटेका सहसचिवहरू उल्लेख्य संख्यामा रहेका छन्। प्रशासन सेवामा मात्र उक्त उमेर समूहका डेढ दर्जन सहसचिव रहेको स्वास्थ्य लाइभको अध्ययनले देखाउँछ।

नेपाल प्रशासन सेवामा हालै थपिएका २ जना सहसचिव ४० मुनिका रहेका छन्। खुला प्रतिस्पर्धाबाट सहसचिव भएका टेकबहादुर वली ३५ वर्ष र महिला कोटाबाट सहसचिव भएकी आरती न्यौपाने ३१ वर्षकी हुन्। नेपाल सरकारका सहसचिवहरूमध्येमै सबैभन्दा कान्छी आरती देखिएकी छिन्।

आरतीपछि ग्वान्जाओको महावाणिज्यदूत रहेका भरत खनाल कान्छो उमेरका सहसचिवमा पर्छन्। खनाल अहिले ३४ वर्षका भए। २०७९ चैतमा सहसचिवबन्दा खनाल पनि ३१ वर्ष कै थिए। खनालको रेकर्ड तोड्न ३० वर्षको सहसचिव हुनुपर्ने देखिन्छ। आरती पनि ३१ वर्षमै सहसचिव भएकी छिन्। कान्छो उमेरमा सहसचिव बन्ने खनालपछि आरती बनेकी हुन्। खनाल खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्।

मध्यमस्तरीय करदाता कार्यालयकी प्रमुख कर प्रशासक कविता रेग्मी कविता रेग्मी ३५ भइन्। उनी ३३ वर्षको उमेरमा सहसचिव भएकी थिइन्। हालै सहसचिव भएका टेकबहादुर वली पनि ३५ वर्ष कै हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का निजी सचिव रहेका सहसचिव प्रदीप परियार ३७ वर्षका भए। प्रदिप २०७८ चैतमा ३२ वर्षको उमेरमा सहसचिव भएका थिए। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत भइसकेका प्रदीप अहिले ३५ वर्षे प्रधानमन्त्री बालेनको निजी सचिवालयको कमाण्ड सम्हालिरहेका छन्। प्रदिपसँगै सहसचिव भएका सुरेश पन्थी ३८ वर्षका भए। उनी पनि ३४ वर्षमा सहसचिव भइसकेका थिए। सहसचिव पन्थी अहिले गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको भूमिकामा रहेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालय प्रमुख सहसचिव श्रीराम ठाकुर ३८ वर्षका भए। ठाकुर ३५ वर्षमा मधेशी कोटाबाट सहसचिव भएका हुन्।

सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी रहेकी स्किम श्रेष्ठ ३९ वर्षकी भइन्। २०७७ सालमा महिला कोटाबाट सहसचिव हुँदा स्किम ३४ वर्षकी थिइन्। नवलपरासी, मकवानपुर हुँदै सिन्धुलीको सिडिओ बनेकी स्किम सहसचिव भएकै पाँच वर्ष भइसकेको छ। लगानी बोर्डका सहसचिव हेमराज तामाङ ३९ वर्षका भए। उनी ३३ वर्षको उमेरमै २०७७ सालमा आदिवासी/जनजति कोटाबाट सहसचिव भएका हुन्। उनी सहसचिव भएको ६ वर्ष पूरा हुन लागेको छ।

ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी रहेका मेखबहादुर मंग्राती ३९ वर्षका हुन्। मंग्राती ३५ वर्षको उमेरमै २०७८ सालमा दलित कोटाबाट सहसचिव भएका थिए। पाँचथर, सप्तरी, जाजरकोट हुँदै ओखलढुङ्गाको सिडिओ बनेका हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सहसचिव कृष्णकुमारी श्रेष्ठ ३९ वर्षकी भइन्। उनी ३७ वर्षको उमेरमा २०८१ साल जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिव भएकी थिइन्। सहसचिव भएपछि श्रेष्ठ राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक हुँदै उद्योग मन्त्रालय पुगेकी हुन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव मुकेश डंगोल ३९ वर्षका भए। उनी अघिल्लो वर्ष ३८ वर्षको उमेरमा सहसचिव भएका हुन्। दलित कोटा अघिल्लो वर्ष मुकेशसँगै सहसचिव भएका सफल पोर्तेल पनि ३९ वर्ष भएका छन्। लोक सेवा आयोगतिर कार्यरत पोर्तेल ३८ वर्षको उमेरमा सहसचिव भएका हुन्।

ललितपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेहेकी सहसचिव रेखा दास ४० वर्षकी भइन्। आदिवासी/ जनजाति कोटाबाट २०७८ मा सहसचिव सिफारिस हुँदा रेखा ३५ वर्षकी थिइन्। रेखाले २ वर्षभन्दा बढी समयदेखि ललितपुर महानगरपालिकाको प्रशासनिक कमाण्ड सम्हालिरहेकी छिन् ।

लगातार सिडिओ खाइरहेका सहसचिव इन्द्रदेव यादव ४० वर्षका भए। २०७७ सालमा मधेशी कोटाबाट सहसचिव हुँदा यादव ३५ वर्षका थिए। सुनसरी, इलाम, रौतहट, सर्लाही, चितवन, मोरङ जस्ता जिल्लाको सिडिओ भएर यादव महोत्तरी पुगेका हुन्। सहसचिव भएको ५ वर्षमै यादव आधा दर्जन बढी जिल्लाको सिडिओ भइसकेका छन्।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव बनेकी सहसचिव सुशीला अर्याल ४० वर्षकी भइन्। २०७८ सालमा ३६ वर्षको उमेरमा सुशीला आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकी हुन्। उनी हालै प्रदेश सचिवमा सरूवा गएर लुम्बिनी पुगेकी छिन्।

संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया ४० वर्ष पुगेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्याल पनि ४० वर्ष कै हुन्। उनीहरू गत वर्ष मात्र सहसचिव भएका थिए। ४० नपुगी उनीहरू सहसचिव भएका हुन्।

सानो उमेरमै सहसचिव भएका केहीको अनुभव र कार्यक्षमतामाथि समेत प्रश्न उठ्ने गरेको छ। त्यो पाटोतर्फ भने राज्यले ध्यान दिनुपर्ने देखिन्छ। कम उमेरमै सीधै सहसचिव बन्दा निर्णय गर्न समेत नसक्ने र डराउने गुनासो सुनिने गरेको छ। उक्त विषयमा समेत बहस हुन जरूरी देखिन्छ।

४० वर्ष र सोभन्दा मुनि उमेरका सहसचिवहरू

आरती न्यौपाने ३१,

भरत खनाल ३४,

कविता रेग्मी ३५,

टेकबहादुर वली ३५,

प्रदिप परियार ३७,

सुरेश पन्थी ३८,

श्रीराम ठाकुर ३८,

स्किम श्रेष्ठ ३९,

हेमराज तामाङ ३९,

मेखबहादुर मंग्राती ३९,

कृष्णकुमारी श्रेष्ठ ३९,

मुकेश डंगोल ३९,

सफल पोर्तेल ३९,

रेखा दास ४०,

इन्द्रदेव यादव ४०,

सुशिला अर्याल ४०,

सिर्जना थपलिया ४०,

हेमराज अर्याल ४०,

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आरती न्यौपाने ३१, #इन्द्रदेव यादव ४०, #कविता रेग्मी ३५, #कृष्णकुमारी श्रेष्ठ ३९, #टेकबहादुर वली ३५, #प्रदिप परियार ३७, #भरत खनाल ३४, #मुकेश डंगोल ३९, #मेखबहादुर मंग्राती ३९, #रेखा दास ४०, #श्रीराम ठाकुर ३८, #सफल पोर्तेल ३९, #सिर्जना थपलिया ४०, #सुरेश पन्थी ३८, #सुशिला अर्याल ४०, #स्किम श्रेष्ठ ३९, #हेमराज अर्याल ४०, #हेमराज तामाङ ३९

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ