गोरखामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


गोरखा। क्यान्सर काउन्सिल नेपाल र धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा र एभरेष्ट बैंक लिमिटेड साथै आरुघाट गाउँपालिकाको सहकार्यमा गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालय, मान्बुमा दुई दिने मुटु, मिर्गौला, कलेजो लगायत एकीकृत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ।

उक्त शिविरमा आरुघाट गाउँपालिकाका वडा नं. १, २ र ३ का ६ सयभन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका थिए। दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ११० जनाको मुटुको इको परीक्षण र २५० जनाको भिडियो एक्स–रे गरिएको थियो। साथै, युरिन परीक्षण, मिर्गौला परीक्षणलगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिनुका साथै परीक्षणका आधारमा आवश्यक औषधीसमेत निःशुल्क वितरण गरिएको थियो।

मुटु रोग विशेषज्ञ डा. सचिन लामिछानेका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा मुटु तथा मिर्गौलासम्बन्धी समस्या देखिने गरेको छ। उहाँले शिविरमा परीक्षणका लागि आएका धेरै व्यक्तिहरूमा उच्च रक्तचापका कारण मुटु तथा मिर्गौलाको समस्या देखिएको बताए।

त्यस्तै, रेडियोलोजिस्ट विज्ञ डा. जी एलिनले ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए। शिविरमा सहभागी डा. गौरव पन्त, डा. लोचन श्रेष्ठ, विवेक डंगोल र ब्रिजेश यादव लगायतका स्वास्थ्यकर्मीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरमा सहभागी भई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुटुरोग विशेषज्ञ डा. सचिन लामिछानेका अनुसार मुटुरोग पहिचानका लागि ग्रामीण स्तरबाटै अभियानका रूपमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ। उहाँले ग्रामीण क्षेत्रमा समयमै स्वास्थ्य परीक्षण नहुँदा मुटु तथा मिर्गौलासम्बन्धी समस्या ढिलो पहिचान हुने गरेको बताए।

त्यस्तै, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यक्रम संयोजक डा. गौरव पन्तले क्यान्सर काउन्सिल नेपालले यस स्वास्थ्य शिविर सञ्चालन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताए।

क्यान्सर काउन्सिल नेपालकी अध्यक्ष श्री रुद्रलाल कडरियाले आयोजक संस्था क्यान्सर काउन्सिल नेपालका तर्फबाट शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई धन्यवाद दिँदै केन्द्रले गरेको कार्यको मुक्तकण्ठले प्रशंसा गरे। उहाँले ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत प्रदान गर्ने बताए। क्यान्सर काउन्सिल नेपालका कार्यक्रम संयोजक दिनेश ढकालले स्वास्थ्य सेवा जस्तो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरे। उनले यस्ता स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताउँदै आगामी दिनमा पनि स्वास्थ्य सेवासम्बन्धी कार्यक्रमहरूमा निरन्तर सहभागी हुने प्रतिबद्धता व्यक्त गरे।

 

आरुघाट गाउँपालिकाका अध्यक्ष श्री राजु गुरुङले आयोजक संस्था क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई धन्यवाद दिँदै यस्ता सेवामूलक कार्यको मुक्तकण्ठले प्रशंसा गरे। उहाँले पालिकाभित्र डाक्टर तथा स्वास्थ्यकर्मीहरूले प्रदान गरेको सेवालाई हृदयदेखि नै प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न अनुरोध गरे।

अध्यक्ष गुरुङले भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक काजीराम कार्की, विद्यालयका शिक्षकहरू, स्वयंसेवक विद्यार्थीहरू तथा स्थानीय स्तरबाट कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूको योगदानको समेत प्रशंसा गरे।

साथै यस विद्यालयका कृषि प्रशिक्षक तथा Rapper उत्तम रोस्यारा Atom Soul का अनुसार, यस्तो निःशुल्क स्वास्थ्य शिविर विद्यालयमै सञ्चालन हुँदा आफू अत्यन्तै खुसी भएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा एकता, सामाजिक सेवा र सहयोगको भावना विकास गराउने उल्लेख गर्दै विद्यार्थीहरू भविष्यमा पनि यस्ता सामाजिक कार्यमा सहभागी हुन प्रेरित हुने बताए। साथै गाउँघरमा रोगले च्यापेपछि मात्र अस्पताल जाने प्रवृत्ति अझै पनि रहेको बताउँदै अब समय–समयमा स्वास्थ्य परीक्षण गराइरहनुपर्छ भन्ने चेतना सेवाग्राहीहरूमा पनि विकास भएको धारणा व्यक्त गरे। Atom Soul ले यस्ता स्वास्थ्य शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रकी मानव अङ्ग प्रत्यारोपण कोर्डिनेटर सरु कोजूले अङ्गदानको महत्त्वबारे प्रकाश पार्दै यस अभियानमा सबैले साथ दिनुपर्ने बताए। उहाँले शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले मानव अङ्ग प्रत्यारोपण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ