सामान्यले ४ सहसचिवलाई दियो नियुक्ति, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ४ सहसचिवलाई नियुक्ति दिएको छ। उनीहरू उक्त मन्त्रालयमै रूमल्लिरहेका छन्। तर, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ।
नेपाल प्रशासन सेवामा विजयकुमार शर्मा, टेकबहादुर वली, बसन्तबहादुर बोहरा र आरती न्यौपाने खुला तथा समावेशीबाट सहसचिवमा थपिएका हुन्। लोक सेवा आयोगको सिफारिसमा सामान्य प्रशासन मन्त्रालयले उनीहरूलाई नियुक्ति पत्र पनि दिइसकेको छ। सरकारले उनीहरूलाई उचित ठाउँमा खटाउने तयारी गरेको हो।
सहसचिवको दरबन्दी भएको बाराको कलैया उपमहानगरपालिका र मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा तत्काल सहसचिव पठाउनु पर्ने देखिन्छ। कलैया उपमहानगरपालिका निमित्तको भरमा चलिरहेको छ। भरत गौतम जेठ ३ गतेदेखि ५८ वर्षे उमेर हदले गएपछि हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा पुगेको हो।
पिछडिएको क्षेत्रमा पर्ने अछामलगायतका जिल्लामा पनि सहसचिव खटाइएको छैन। अछामको प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी छ। उपसचिवले सिडिओ चलाइरहेका छन्। बोहरा पिछडिएको क्षेत्रबाट सहसचिव बनेकाले उनलाई उक्त क्षेत्रमा खटाउदा न्यायोचित हुने देखिन्छ। दरबन्दी खाली भएका उपमहानगरपालिकामा र अन्य ठाउँमा थपिएका सहसचिवहरूलाई खटाउन ढिला गर्न हुँदैन। साउनमा स्थानीय तहले बजेटबाट ल्याउने भएकाले कलैया, हेटौंडा जस्ता उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने विषयमा सरकारले तदारुकता देखाउन आवश्यक छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस