स्नातक गरेको ३५ वर्ष पूरा भएको व्यक्तिले राजदूत बन्नका लागि आवेदन दिन सक्ने


काठमाडौं। परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ। स्नातक गरेको र ३५ वर्ष पूरा भएको नेपाली नागरिकले राजदूतका लागि प्रतिस्पर्धा गर्न सक्नेछन्।

५ दिनको समय दिएर दरखास्त आह्वान गरिएको हो। स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभव योग्यता भएकालाई छनौटमा प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ। विदेशी राष्ट्रको तलब खाने पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा व्यक्ति मात्र राजदूत बन्न सक्नेछ।

‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८/२०७९) बमोजिम मन्त्रालयले राजदूत नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो। राजदूत हुनका लागि कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर वा ग्रीनकार्ड) नलिएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको र नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्ने योग्यता तोकिएको छ।

प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको र अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको व्यक्ति राजदूत बन्नका लागि योग्य हुनेछ। मन्त्रिपरिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएको व्यक्तिलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्नेछन्।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ