मन्त्री मेहता र राजदूत चाङ माउ मिङबीच शिष्टाचार भेट
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि चीनका राजदूत महामहिम चाङ माउ मिङबीच शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरबारमा भएको भेटमा नेपाल र चीनबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको थियो।
मन्त्री मेहताले नेपालका सुख–दुःखका हरेक घडीमा चीन सरकारले गरेको सहयोग तथा स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा पुर्याएको योगदानको प्रशंसा गरिन्।
चीनले हासिल गरेको उल्लेखनीय विकासबाट नेपालले पनि सिकेर अगाडि बढ्नुपर्ने मन्त्री मेहताले बताइन्।
राजदूत मिङले नेपालमा ठूलो जनादेशसहित गठन भएको सरकारलाई बधाई दिँदै सरकारको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा वर्तमान सरकारले महत्वपूर्ण फड्को मार्ने विश्वास व्यक्त गर्दै चीन सरकार नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए।
राजदूत मिङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार विकास तथा खाद्य स्वच्छताका क्षेत्रमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोग विस्तार गर्न सकिने प्रस्ताव राखे।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस