१२औँ तह बढुवामा सुधा देवकोटा र विनोदविन्दु शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई अतिरिक्त सचिव बनाउने


काठमाडौं । स्वास्थ्य सेवातर्फ १२औँ तह (अतिरिक्त सचिव) पदमा बढुवाका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये डा. सुधा देवकोटा र डा. विनोदविन्दु शर्मा सिफारिस भएका छन्।

लामो समयदेखि रिक्त रहेको अतिरिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले अन्तिम चरणमा डा. देवकोटा र डा. शर्माको नाम सिफारिस गरेको हो। प्राप्त जानकारीअनुसार बढुवाको पहिलो नम्बरमा डा. सुधा देवकोटा र दोस्रो नम्बरमा डा. विनोदविन्दु शर्मा रहेका छन्।

उक्त पदका लागि डा. सुधा देवकोटा, कृष्णप्रसाद पौडेल, चुमनलाल दास, विनोदविन्दु शर्मा, दुर्गालक्ष्मी श्रेष्ठ, नारायणप्रसाद ढकाल, किरणमणि पौडेल, राजन पाण्डे, चन्द्रलाल झा, रुना झा, यदुचन्द्र घिमिरे, प्रमोद यादव, अभय पोख्रेल र विष्णु प्रसाद शर्मालगायतले आवेदन दिएका थिए।

बढुवा सिफारिस समितिले अन्तिम निर्णयका लागि दुई जनाको नाम सिफारिस गरेसँगै अब स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद्मा जानेछ। सम्भवतः बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका दुई जनामध्ये एक जनालाई अतिरिक्त स्वास्थ्य तथा खाद्य स्वच्छता सचिव पदमा नियुक्त गर्नेछ।

स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि अतिरिक्त सचिव पद रिक्त रहँदा प्रशासनिक तथा नीतिगत निर्णय प्रक्रियामा समेत असर परेको चर्चा हुँदै आएको थियो। सिफारिस प्रक्रिया टुंगिएसँगै अब मन्त्रिपरिषद्को निर्णयलाई स्वास्थ्य क्षेत्रले चासोका साथ हेरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ