कृषि मन्त्रालयका सहसचिव अधिकारी असाधारण विदा लिएर १० वर्षदेखि ‘बेपत्ता’
काठमाडौं। कृषि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद अधिकारी असाधारण विदा लिएर १० वर्षदेखि ‘बेपत्ता’ भएका छन्। सरकारी ‘रेकर्ड’ हेर्दा अधिकारी नेपालमा भेटिंदैन। सहसचिव अधिकारीले २०७३ कार्तिक १० गतेदेखि २०७४ कार्तिक १० गतेसम्म १ वर्षका लागि असाधारण विदा लिएको देखिन्छ। त्यसपछि सहसचिव अधिकारी नेपाल फर्किएको पाइँदैन।
२०६५ साल चैतका सहसचिव अधिकारी सचिव भएर पनि अवकाशमा गइसक्नु पर्ने देखिन्छ। उनीभन्दा पछाडिका कृषिमा आधा दर्जन सहसचिव सचिव भएर अवकाशमा जान लागिसके। तर, अधिकारी भने ‘बेपत्ता’ अवस्थामा छन्।
५८ वर्ष पूरा हुन झन्डै साढे ३ वर्ष बाँकी रहेका सहसचिव अधिकारीको विषयमा स्वास्थ्य लाइभले खोजी गर्दा उनी अष्ट्रेलिया भएको फेला परेको छ। असाधारण विदा लिएर अष्ट्रेलिया पढ्न गएका अधिकारी १० वर्ष हुन लाग्दा समेत सेवामा नफर्किएका हुन्।
नेपालको कृषि मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद अधिकारी अष्ट्रेलियामा डा. राजेन्द्र अधिकारीका नामले परिचित हुन थालेका छन्। अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयबाट कृषि व्यवसायमा पीएचडी गरेका अधिकारी कृषिसम्बन्धी विभिन्न परियोजनामा काम गर्दै आएका छन्। उनी उक्त विश्वविद्यालय अन्तर्गत कृषि तथा खाद्य दिगोपन स्कूलका कृषि व्यवसायका वरिष्ठ व्याख्याता हुन्।
२०८६ असोजसम्म सरकारी सेवामा कार्यरत रहने अधिकारी १० वर्षदेखि ‘बेपत्ता’ हुँदा समेत सरकारले खोजी गरेको छैन। कृषि मन्त्रालयका उच्च अधिकारीसँग कुरा गर्दा उनको विषयमा अहिलेसम्म कुनै प्रकारको निर्णय नगरिएको बताइन्छ। ३ वर्षसम्म असाधारण विदा लिन पाउने सुविधा भएपनि १० वर्षसम्म सहसचिव अधिकारी ‘बेपत्ता’ रहेको पाइन्छ। बालेन सरकारले ‘बेपत्ता’ सहसचिव अधिकारीमाथि एक्सन लिन जरूरी छ।
क्याटेगोरी : समाचारट्याग : #डा. राजेन्द्र अधिकारी, #राजेन्द्रप्रसाद अधिकारी, #सहसचिव राजेन्द्रप्रसाद अधिकारी


तपाईको प्रतिक्रिया दिनुहोस