जागिर देशको सरकारी सेवामा, परिवार विदेशमा
समाचार टिप्पणी
काठमाडौं। राहदानी भ्रष्टाचार काण्डमा पोर्चुगलका नियोग उपप्रमुख शत्रुध्वन प्रसाद शर्मा पोखरेल मुछिएका छन्। राहदानी विभागका तत्कालीन निर्देशक (उपसचिव) पोखरेलविरुद्ध राहदानी प्रकरणमा १८ करोड ४४ लाख ८ हजार ८ सय ८७ रुपैयाँ १८ पैसा बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन्।
भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका (राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दप्रसाद पोखरेलका सहोदर भाइ) शत्रुध्वनका परिवार डिभी लिएर अमेरिकामा छन्।
शत्रुध्वनको दुईपटक अमेरिका पोष्टिङ भइसकेको छ। उनीहरूले त्यही नियोगमा पारिवारिक भत्ता खाने गरेका छन्। त्यसले उक्त त्यो डिप्लोम्याटको लोयल्टी के हुन्छ? यस्ता नियोगहरूमा ‘पोष्टिङ’ दिनु भनेको देशको कामभन्दा उनीहरूको पारिवारिक व्यवस्थापनमा राज्यले मिलाई दिएको अवसर मात्र हो। त्यसैले त नैपालले वर्षौंदेखि कुटनीतिको नाममा गरेको खर्वौं राजश्व बालुवामा पानी भएको टिप्पणी हुन थालेको छ।
भन्सार विभाग जस्तो महत्त्वपूर्ण ठाउँको नेतृत्व सम्हालेका ढुण्डीपसाद निरौलाले पनि अमेरिकामा परिवार सेटल गराएका थिए। उक्त तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेपछि निरौलाले गम्भीर आपत्ति जनाए। तर स्वास्थ्य मन्त्रालयको सहसचिवबाट अवकाश हुनेवित्तिकै उनी अमेरिकातिरै पलायन भए। उनी पनि उतै ‘सेटल’ भएका छन्।
नेपाल सरकारका अर्का चल्तापुर्जा सचिवले पनि परिवार अमेरिकामै ‘सेटल’ गराइसकेका छन्। लेखा उपसचिव हुँदा जोडेको सम्पत्ति समेत बेचेर उतै व्यवस्थापन गरेको चर्चा चल्ने गरेको छ। परिवार विदेशमा ‘सेटल’ गराइसकेका कर्मचारीलाई संवेदनशील र महत्त्वपूर्ण जिम्मेवारी नदिने नीति सरकारले अख्तियार गर्नु पर्ने देखिन्छ।
सरकारी सेवामा यस्ता थुप्रै उदाहरण भेटिन्छन्। उनीहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिँदा ‘आर्थिक पलायन’को उच्च जोखिम हुन्छ। त्यसैले बालेन सरकारले जिम्मेवारी दिनु अगाडि परिवार विदेशमा रहे/नरहेको स्वघोषणा गर्न लगाउन आवश्यक छ। झुटो विवरण पेस गरेर जिम्मेवारी प्राप्त गरेको खण्डमा दण्डित गर्ने व्यवस्था पनि ल्याउनु पर्छ। परिवार विदेशमा ‘सेटल’ गराएका उच्च पदस्थ कर्मचारीसँग सरकार सचेत हुनैपर्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस