विष्णु पौडेलका घरबेटी गौतमको खानी निर्माण सेवाले पाएको थियो पुनर्निर्माणका अधिकांश ठेक्का 


काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा पुगेका विष्णुप्रसाद पौडेलको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेको छ। श्रीराम टोबाकोकोमा ३० करोडको सेयरदेखि विभिन्न ठाउँमा जग्गा रहेको अनुसन्धानका क्रममा खुलेको अधिकारीहरू बताउँछन्।

ललितपुर का भैसेपाटीमा आलिसान महल खडा गर्नुअघि पौडेल काठमाडौंको बानेश्वरमा बस्दै आएका थिए। हाल काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालय नजिकै रहेको घरमा पौडेल बस्ने गरेका थिए। उक्त घर रत्नप्रसाद गौतमको हो। नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य गौतम खानी निर्माण सेवा प्रालिका मालिक हुन्। उनैको घरमा बसेका पौडेल अर्थमन्त्री भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकांश ठेक्का खानी निर्माण सेवा प्रालिले हत्याएको आरोप लाग्दै आएको छ। प्राधिकरणले ‘रेकर्ड’ हेर्दा पनि उक्त कुराको पुष्टि हुन्छ।

पाल्पाबाट चुनाव जितेर संसदीय र एमालेको राजनीतिमा उदाएका पौडेलको त्यसैबेलादेखि पाल्पाली सुशील ज्ञवालीसँग घनिष्ठ सम्बन्ध स्थापित भयो। स्याङ्जाका पौडेललाई पाल्पाबाट चुनाव जिताउन सोमप्रसाद पाण्डे, सुशील ज्ञवालीहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। नेकपा एमालेको पार्टी राजनीतिमा पकड राख्दै आएका पौडेलले ज्ञवालीलाई ‘च्याप्न’ थाले। सुशील कोइरालालाई हटाएर केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बनेपछि विष्णु पौडेल अर्थमन्त्री बनेका थिए। त्यसपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणको ‘सिईओ’मा ज्ञवालीलाई नियुक्ति गरियो। पौडेलका विश्वासपात्र ज्ञवाली त्यसअघि नगर विकास कोषका कार्यकारी निर्देशक थिए। पौडेलले नगर विकास कोषमा ‘सेटल’ गराएका ज्ञवालीलाई भूकम्प पीडितलाई राहत दिनेदेखि पुनर्निर्माणको काम गर्नेसम्मको सम्पूर्ण अधिकार रहेको शक्तिशाली प्राधिकरणको ‘सिईओ’ बनाइएको हो।

भूकम्पले क्षतविक्षत बनाएको कान्तिपथस्थित केशरमहलको प्रबलीकरणसहित अधिकांश सरकारी/सामुदायिक विद्यालय निर्माणको ठेक्का खानी निर्माण सेवा प्रालिले पाएको थियो। रामेछापका गौतमको खानी निर्माण सेवाले प्राधिकरणबाट उक्त जिल्लाका अधिकांश विद्यालय पुननिर्माणको ठेक्का पाएको देखिन्छ। काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रामेछापलगायतका दर्जनौ विद्यालय पुननिर्माणको ठेक्का पनि खानीले नै पाएको हो। त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सरकारी भवनहरू पनि लागत अनुमानभन्दा बढीमा खानीले नै ठेक्का पाएको पाइन्छ। नेपाल प्रहरी अस्पताल, चाबहिल, जोरपाटी, साँखु रोड, तनहुँ हाइड्रोपावरलगायतका ठेक्का पौडेल निकट गौतम कै खानी निर्माण सेवा प्रालिले पाएको देखिन्छ।

पौडेलका विश्वासपात्र खानी निर्माण सेवामा उनको शंकास्पद लगानी रहेको सरकारी अधिकारीहरूको दाबी छ। बालुवाटारको सरकारी जग्गा समेत बाँकी नराखेका पौडेलले ‘खानी’मा लगानी गरेको विषयले पनि अहिले निकै चर्चा पाएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #खानी निर्माण सेवा प्रालि, #रत्नप्रसाद गौतम, #विष्णुप्रसाद पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ