लागूऔषध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागूऔषध नियन्त्रणमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै समुदाय, स्थानीय तह, विद्यालय, नागरिक समाज र सञ्चारमाध्यमको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।

अन्तरास्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा एक सन्देश जारी गर्दै गृहमन्त्री गुरुङले लागूऔषध नियन्त्रणलाई दिवस मनाउने औपचारिकतामा सीमित नराखी यसको ‘सप्लाई चेन’ नै तोड्ने गरी प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने बताए ।

लागू औषध नियन्त्रणमा प्रहरी प्रशासनलाई सक्रिय परिचालन गरिएको उल्लेख गर्दै स्थानीय सरकार, विद्यालय, टोल विकास संस्था, बाल क्लब, युवा क्लब, आमा समूहलगायत सबै सरोकारवालाले साझा जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्ने बताए ।

विभिन्न अध्ययन तथा प्रतिवेदनले लागूऔषधको अवैध ओसारपसार बढ्दो क्रममा रहेको देखाएको उल्लेख गर्दै यसलाई सामाजिक चुनौतीका रूपमा लिएर अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।

गृहमन्त्रीका अनुसार लागूऔषधको ओसारपसार र दुरुपयोगले विशेषगरी किशोरकिशोरी तथा युवाको स्वास्थ्य र मानसिक विकासमा गम्भीर असर पुर्‍याइरहेको छ। यो सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक क्षति र जनस्वास्थ्यलाई कमजोर बनाउने सीमापार संगठित अपराध भएकाले यसको नियन्त्रणमा कानुनको कडाइका साथ कार्यान्वयन, अन्तरनिकाय समन्वय तथा कानुनी सुधारलाई निरन्तरता दिइने उनले उल्लेख गरेका छन्।

गृहमन्त्रीले लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि रोकथाम, नियन्त्रण र उपचारपछि पुनःस्थापना लाई मन्त्रालयले प्राथमिकतामा राखेको स्पष्ट पारे । विज्ञप्ति मार्फत उनले स्थानीय समुदायले अभिभावकीय भूमिका निर्वाह गर्न, युवालाई सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउन तथा नागरिक समाज र सञ्चारमाध्यमले जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ