को होला महावीर पुनले खोजेजस्तो विज्ञान प्राविधि क्षेत्रको अनुभवी सचिव?
काठमाडौं। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा अनुभवी, कर्मठ र कार्य सम्पादन गर्न सक्ने सचिव खोजेका छन्। उक्त मन्त्रालयको सचिव प्रमिलादेवी शाक्य बज्राचार्य असार १७ गते बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि मन्त्री पुनले सचिवको खोजी सुरू गरेका हुन्। प्रमिला ५ वर्ष सचिव चलाएर घर जान लागेकी हुन्।
महावीर कै माग बमोजिम गठन भएको मन्त्रालयमा हाइवेतिरको इन्जिनियर रहेकी प्रमिलाले प्रशासन कमाण्ड सम्हालेकी छिन्। उनी यस अघि पनि प्रमिला विज्ञान प्रविधि हेर्ने सचिव थिइन्। शिक्षाबाट छुट्टिएर विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनेपछि नेपाल ट्रष्टको कार्यालयमा कार्यरत प्रमिलालाई उक्त मन्त्रालयको सचिवमा सरुवा गरेर ल्याइएको थियो। १५ दिन पनि मज्जाले काम नगरी उनी अवकाशमा जान लागेकी हुन्।
मन्त्री पुनले थप प्रस्टीकरण दिँदै हाल कार्यरत सचिवहरूबाट नै लिने भनेका छन्। नियमानुसार सचिव नियुक्त गर्ने उनको भनाई छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी रहेको छ। मन्त्री पुनले भनेजस्तै नियमानुसार सचिव ल्याउदा पूर्वाधार विकास मन्त्रालयमा कार्यरत गोपालप्रसाद सिग्देल र विश्वबाबु पुडासैनी, ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्रालयको सचिव सरिता दवाडी, नेपाल ट्रष्टको कार्यालयका सचिव चिरञ्जीवी चटौत, जल तथा ऊर्जा आयोग सचिव सरजुकुमार वैद्य र राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनानाथ मिश्रमध्ये एकजनालाई ल्याउनु पर्ने हुन्छ।

पूर्वाधार विकास मन्त्रालयमा एक सचिव हराउनु जरूरी छ। नेपाल ट्रष्टको कार्यालयका सचिव चिरञ्जीवी चटौत पनि प्रमिलाभन्दा अगाडि नै घर जान्छन्। त्यसैले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा अनुभवी र समूह मिल्ने सचिव राष्ट्रिय सतर्कता केन्द्रका दिनानाथ मिश्र नै देखिन्छन्।
विज्ञान प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा लामो समय काम गरेका मिश्र उक्त मन्त्रालयका अनुभवी सचिव हुन्। अहिले भएका प्राविधिक सचिवमा मन्त्री पुनले खोजेजस्तो अनुभव उनमा देखिन्छ। कर्मठ र कार्य सम्पादन चाहिँ काम लगाएपछि मात्र भन्न सकिन्छ। अर्का सचिव विश्वबाबु पुडासैनीसँग पनि विज्ञान प्रविधि सचिव चलाएर बसेको अनुभव छ।
क्याटेगोरी : समाचार
ट्याग : #दिनानाथ मिश्र


तपाईको प्रतिक्रिया दिनुहोस