सहसचिवको ‘भलिबल टिम’ रहेको गृह मन्त्रालय एक्ला आनन्दको भरमा
काठमाडौं। गृह मन्त्रालयमा कानुनसहित ६ वटा महाशाखा रहेका छन्। गृह मन्त्रालयका महाशाखामा रहेका सहसचिवको संख्या हेर्दा ‘भलिबल टिम’ नै बन्ने देखिन्छ। तर, गृह मन्त्रालय भने एक्ला सहसचिव आनन्द काफ्लेको भरमा चलिरहेको छ।
गृह मन्त्रालयका सहसचिवहरू कालिप्रसाद पराजुली, ऋषिराम तिवारी, सुमन घिमिरे, सुरेश पन्थी मन्त्रालयबाहिर रहेका छन्। मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव काफ्लेले मात्रै अहिले गृह मन्त्रालय धानिरहेका छन्।
गृह मन्त्रालयमा प्रशासन र आन्तरिक व्यवस्थापन महाशाखा भनेर ‘सौता’ हालिएको छ। आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारी मन्त्रालयभन्दा बाहिर घुमघाममा रमाउने गरेका छन्। ११ दिन हज गएर आएका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख तिवारी काठमाडौं छाडेर हिँडेको एक हप्ता हुन लागिसकेको छ। गृह मन्त्रालयमा काम नपुगेर तिवारी जस्ता सहसचिव घुमघाममा व्यस्त देखिन्छन्।
गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख कालिप्रसाद पराजुली पनि उपत्यकाबाहिर रहेका छन्। विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थी पनि पनि मन्त्रालयबाहिर छन्।
नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन घिमिरे विदेश भ्रमणमा निस्किएका छन्। सरकारले ३ महिनासम्म विदेश भ्रमणमा कडाइ गरेपनि शक्तिशाली सचिव र सहसचिवलाई उक्त निर्णयले कुनै प्रभाव पारेको छैन। सरकारको निर्णयलाई प्रभावहीन बनाएर सहसचिव घिमिरे युरोपतिर हानिएका हुन्।
मन्त्रालयको कानुन महाशाखा प्रमुख कृष्णकुमार कार्की रहेका छन्। गृह मन्त्रालयमा सहसचिवको ‘भलिबल टिम’ रहेपनि अहिले मन्त्रालय भने सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्दको भरमा चलिरहेको देखिन्छ। यस्तै तालले गृह मन्त्रालय चल्ने हो भने सुशासनले हावा खाने निश्चित छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस