मुख्यसचिव बन्न एकै लटका सचिवबीच कडा प्रतिस्पर्धा
काठमाडौं। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ५ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा गएकी छिन्। उनी अवकाशमा गएसँगै मुख्यसचिवको प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्। अब निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा ‘मिल्काइएका’ सचिव कृष्णहरि पुष्कर कर्ण अवकाशमा जाने तयारीमा छन्।
मुख्यसचिव सुमनराज अर्यालभन्दा अगाडि नै सचिव बुर्लाकोटी र कर्ण ५ वर्ष सचिव खाएर घर जानेछन्। बुर्लाकोटी असार २० र कर्ण असार २३ गते अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि मात्र असार २५ गते मुख्यसचिव अर्याल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने हुन्।
मुख्यसचिव अर्यालपछि घर जाने सूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव खगेन्द्रप्रसाद नेपाल रहेका छन्। विशेष दरबन्दीमा बढुवा भएका र शारीरिक रूपमा पनि मुख्यसचिव चलाउन नसक्ने अवस्थामा रहेका नेपाल मुख्यसचिव अर्यालभन्दा दुई दिन पछाडि घर जाने सूचीमा छन्। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा मुख्यसचिवको प्रतिस्पर्धामा एक नम्बरमा रहनेछन्।
किरणराज शर्मासँगै एकै दिन सहसचिव भएका डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ (गृहसचिव), रविलाल पन्थ (योजना आयोगका सचिव), रामेश्वर दंगाल (लोक सेवा आयोगका सचिव) र मुकुन्दप्रसाद निरौला मुख्यसचिवको प्रतिस्पर्धामा रहेका छन्। उनीहरू सबै २०६९ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। किरणसँगै एकैदिन सहसचिव र सचिव भएका रामप्रसाद घिमिरे भने ५८ वर्ष लागेर घर गइसकेका छन्। घिमिरे घर गएसँगै मुख्यसचिवमा मुख्य प्रतिस्पर्धामा किरण, राजकुमार, रविलाल, रामेश्वर र मुकुन्दबीच हुने देखिन्छ।
बीचमा उनीहरूभन्दा दुई वर्ष अगाडि सहसचिव भएका उद्योग सचिव कृष्णबहादुर राउत मुख्यसचिवको प्रतिस्पर्धामा देखा परेका छन्। राउतले सचिव हुने तालिम समयमै लिएको भए सुमनराज अर्यालको ठाउँमा मुख्यसचिव हुने सम्भावना थियो। रामेश्वर र मुकुन्दभन्दा अगाडि सचिवमा बढुवा भएका राउत अहिले फेरि मुख्यसचिवको मुख्य दाबेदारको रूपमा प्रस्तुत भएका छन्। ३०-५५ को कानुन आए सबै सचिव घर गएर कृष्णबहादुर राउत र मुकुन्दप्रसाद निरौलाबीच मात्र मुख्यसचिवको प्रतिस्पर्धा हुने देखिन्छ।
२०६९ कै खुला तथा समावेशी कोटाबाट सहसचिव भएका सचिवहरू मुख्यसचिवको प्रतिस्पर्धामा आएका छन्। दिपक काफ्ले (श्रम सचिव), नारायणप्रसाद शर्मा दुवाडी (अख्तियार सचिव), राधिका अर्याल (महिला सचिव) घनश्याम उपाध्याय (अर्थ सचिव) र दिनेशकुमार घिमिरे वित्त आयोगका सचिव पनि एकै सालका आन्तरिक प्रतिस्पर्धाबाट आएर सहसचिव हुँदै सचिव भएकाहरूसँग मुख्यसचिवको प्रतिस्पर्धामा आएका हुन्।
दिपक अपांग र राधिका महिला कोटाबाट सहसचिव हुँदै सचिव भएका थिए। नारायण, घनश्याम र दिनेश भने त्यहिँ विज्ञापनमा खुला प्रतिस्पर्धाबाट सहसचिव हुँदै सचिव भएका हुन्।
किरणहरू २०६९ फागुन २४ गते खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए भने दिपक, घनश्यामहरू २०६९ चैत ६ गते खुला, समावेशी कोटाबाट सहसचिव हुँदै सचिव भएका हुन्। २०६९ सालका सहसचिवबीच मुख्यसचिवमा कडा प्रतिस्पर्धा भइरहँदा २०६७ सालका सहसचिव राउत मुख्यसचिवको प्रतिस्पर्धामा देखा परेका हुन्। सरकारले यिनीहरू मध्येबाटै मुख्यसचिव बनाउने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस