सरकारले सोध्यो डिभि-पिआर लिएका ४ अधिकृतलाई स्पष्टीकरण
काठमाडौं। विदेशी मुलुकको आवासीय अनुमति डिभि-पिआर लिएका ४ अधिकृतलाई स्पष्टीकरण सोधेको छ। सरकारले गोरखापत्रमा सूचना निकालेरतीन नापी अधिकृत र एकजना तथ्याङ्क अधिकृतलाई स्पष्टीकरण सोधेको हो।
विदेश गएका नापी अधिकृतहरू निमिषा वाग्ले, आभाष जोशी र रमेशकुमार पोखरेल उतैको आवासीय अनुमति लिएर बसेपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ। वाग्लेसँग स्थायी आवासीय अनुमतिपत्र (पिआर) र जोशीसँग अष्ट्रेलियाको अस्थायी आवासीय अनुमतिपत्र (टिआर) रहेको खुल्न आएको हो। त्यस्तै नापी अधिकृत पोखरेलसँग अमेरिकाको डिभी परेर पलायन भएको पाइएको छ।
त्यस्तै तथ्याङ्क अधिकृत सुरेन्द्रप्रसाद पाण्डेयले पनि अस्थायी आवासीय अनुमति लिएको फेला परेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनको समय दिएर डिभि-पिआर लिएका ४ अधिकृतलाई स्पष्टीकरण सोधेको हो।

‘तपाईं घर बिदा/अध्ययन बिदा/ असाधारण बिदा समाप्त भएपश्चात पनि आफ्नो पदाधिका रहेको कार्यालयमा अनुपस्थित रही विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिई/लिन आवेदन दिई निजामती सेवा ऐन, २०४९ को दफा दफा ६१ को उपदफा (२) को खण्ड (ग) बमोजिमको कसुर गरेको देखिएकोले सोही कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय बमोजिम बमोजिम कारबाही गर्नु नपर्ने उचित आधार र कारण केही भए निजामती सेवा नियमावली, २०५० को नियम ११० खण्ड (क) बमोजिम १५ (पन्ध्र) दिनभित्र सफाइ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ’, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोधेको स्पष्टीकरणमा उल्लेख छ। स्पष्टीकरण सोधेर उनीहरूलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाइएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस