गोरखापत्र संस्थानको एमडीमा रावल, सुरक्षण मुद्रणमा ढुंगाना


काठमाडौं। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक (एमडी) पदमा हिक्मतबहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई गोरखापत्र संस्थानको एमडीमा नियुक्ति गर्ने निर्णय गरेको हो।

त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने निर्णय गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र दिपक भट्ट निकट मानिने ढुंगाना दोहोऱ्याएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेका हुन्। विष्णु पौडेल अर्थमन्त्री हुँदा ढुंगाना नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक एकसाथ भएका थिए। एकैपटक दुई निकायमा नियुक्ति खाएको विवादमा परेपछि उनी पुनर्बीमा कम्पनीको अध्यक्ष छाडिर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा सीमित भएका छन्। बालेन सरकार आएपछि पदमुक्तिमा परेका ढुंगाना फेरि पुरानै पदमा दोहोरिएर नियुक्ति खान सफल भएका हुन्।

मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने निर्णय गरेको छ।

नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषदको बैठकले गरेको छ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक स‌ंघीय संसदमा पेस गर्न स्वीकृति दिने र एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी)लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

क्याटेगोरी : समाचार
ट्याग : #देवराज ढुंगाना, #हिक्मत बहादुर रावल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ