प्रशासनका ३ सहसचिव भएको रक्षा मन्त्रालय फाजिलमा परेका कानुनका सहसचिवको काँधमा


काठमाडौं। रक्षा मन्त्रालयमा नेपाल प्रशासन सेवाका ३ सहसचिवको दरबन्दी रहेको छ। पहिला ४ वटा महाशाखा रहेको रक्षामा कानुनको सहसचिवको दरबन्दी काटिएको हो। तर, प्रशासन सेवाका ३ जना सहसचिव नै नहुँदा फाजिलमा परेका कानुनको सहसचिवले कमाण्ड सम्हालिरहेका छन्।

रक्षा मन्त्रालयमा कार्यरत सहसचिव कृष्ण पौडेलको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा सरूवा भएको लामो समय भइसकेको छ। पौडेलको ठाउँमा अर्को सहसचिव पठाइएको छैन। नेपाल प्रशासन सेवाका अर्का सहसचिव मनोजकुमार आचार्य भदौ ६ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको मुखमा रहेका प्रशासन महाशाखा हेर्दै आएका सहसचिव आचार्यले नैतिकता देखाउँदै बिदामा बसेका छन्। दुई सहसचिवको अब हिसाब रहेन।

रक्षा मन्त्रालयमा लामो समयदेखि टिकिरहेका सहसचिव ज्ञानेन्द्र पौडेल अहिले अमेरिकामा छन्। सरकारले उनलाई अमेरिका भ्रमणमा पठाएको लामो समय भइसकेको छ। अनावश्यक वैदेशिक भ्रमणको स्वीकृत दिँदा रक्षा मन्त्रालय ठप्प हुने अवस्था आएको हो। सहसचिव पौडेल पारिवारिक काममा अल्मलिएकाले कहिले नेपाल फर्किने हो भन्ने निश्चित नरहेको बताइन्छ। पौडेलसँगै अमेरिका गएका अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डे मन्त्रालयको नियमित काममा फर्किसकेको पाइन्छ।

रक्षा मन्त्रालयबाट कानुनको सहसचिवको दरबन्दी काटिएको छ। कानुन महाशाखा प्रमुख सहसचिव शम्भुराज रेग्मी फाजिलमा परेका छन्। तर, अहिले प्रशासनका सहसचिव नहुँदा उनै रेग्मीले सिंगो मन्त्रालय धानिरहेका छन्। उक्त विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत चर्चा हुन थालेको छ। दरबन्दीमा रहेका एक मात्र सहसचिव पौडेल अझै एक महिना अमेरिकामै बस्ने अवस्था रहेकाले उनलाई अतिरिक्तमा तानेर रक्षामा ३ वटै प्रशासनको सहसचिव पठाउने सम्भावना पनि उत्तिकै छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण पौडेल, #ज्ञानेन्द्र पौडेल, #मनोज कुमार आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ