राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्ष
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्ने विषयमा प्रतिनिधिसभाको अर्थ समितिमा सहमति जुटेको छ ।
सिंहदरबारमा बिहीबार बसेको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा गभर्नर र सञ्चालक समितिका सदस्यको पाँच वर्षको कार्यकाललाई घटाएर तीन वर्ष कायम गर्ने सहमति भएको हो।
समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार सरकारको आर्थिक नीति तथा योजना र मौद्रिक क्षेत्रबीच सामञ्जस्य कायम गर्ने उद्देश्यले कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थाबारे समेत छलफल भएको छ ।
यस्तै, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्यको प्रारम्भिक पदावधि तीन वर्ष कायम गर्ने र कार्यसम्पादन मूल्याङ्कन सन्तोषजनक देखिएमा नेपाल सरकारले थप दुई वर्ष पदावधि बढाउन सक्ने व्यवस्था विधेयकमा राख्ने निर्णय भएको सभापति बुढाथोकीले जानकारी दिए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस