गृह मन्त्रालयको विपद्का हाकिम महाविपत्तिमा अमेरिकातिर
समाचार टिप्पणी
काठमाडौं। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदाहुँदै सहसचिवले हेर्नेगरी मन्त्रालयमा छुट्टै विपद् महाशाखा राखिएको छ। उक्त महाशाखाको मुख्य उद्देश्य भनेकै विदेश घुम्ने हो। भोटेकोशी (त्रिशुली)ले रसुवा, नुवाकोट र धादिङका वितण्डा मच्चाउदा पनि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख ‘लापत्ता’ छन्। उक्त औचित्यहीन महाशाखा प्रमुख अमेरिकातिर रहेको बताइन्छ। यत्रो विपद्मा पनि निष्क्रिय रहेको उक्त महाशाखाको औचित्यमाथि नै प्रश्न खडा भएको हो।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको भूमिकामा सहसचिव सुरेश पन्थी रहेका छन्। पन्थी छन त छन् तर नेपालमा होइन अमेरिकातिर छन्। पन्थी भोटेकोशीको विपद्मा मात्र होइन गृह मन्त्रालयका अवकाश प्राप्त सचिव राजकुमार श्रेष्ठको बिदाइ र गृहमा सरूवा भएर आएका सचिव केदारनाथ शर्माको स्वागतमा समेत देखा परेनन्।
सहसचिव पन्थीको निजी नम्बर समेत अफ रहेको छ। मुलुकलाई महाविपत्ति परेका बेला विपद्का हाकिम भने अमेरिकातिरै रहेकाले उनको चर्को आलोचना भएको हो। उनी यस्तो अवस्थामा तत्काल भ्रमण छोट्याएर स्वदेश फर्किन पनि सक्थे। तर त्यसको हेक्का राखेको पाइएन।
गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाउने भनेर चर्चामा रहेका विपद्का प्रमुख आपत्तमा देखा नपरेपछि उनको भूमिकामाथि नै प्रश्न उठेको छ। विगतमा पनि विपद् महाशाखा प्रमुखहरू यसरी नै विदेशतिर केद्रिन्त भएको विषयमा चर्चामा आउने गरेको थियो। विदेश जानकै लागि उक्त महाशाखामा जान मरिहत्ते गर्ने गरेको आरोप लाग्दै आएको थियो। अहिलेको विषम परिस्थितिमा पनि महाशाखा प्रमुख सहसचिव देशमा नभेटिनुले उक्त कुरा प्रसंग फेरि सतहमा आएको हो।
क्याटेगोरी : समाचारट्याग : #सुरेश पन्थी


तपाईको प्रतिक्रिया दिनुहोस